आज राष्ट्रिय एकता तथा मेलामिलाप दिवस । राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले मानेका एक बौद्धिक तथा सिद्धान्त प्रतिपादक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला लामो समयको भारत निर्वासनबाट नेपाल फर्किनुभएको दिन । तत्कालीन निर्दलीय पञ्चायतले उहाँको निर्वासनबाट स्वदेश फिर्तीलाई अनेक प्रयत्न गरी बिथोल्ने व्यूह रचना गरे पनि असफल भएको थियो । आजभन्दा ठीक अठ्चालीस वर्षअगाडि आजकै दिन अर्थात् २०३३ सालको पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालमा प्रजातान्त्रिक समाजवादी सिद्धान्तको प्रथम भाष्यकार विश्वेश्वरप्रसाद कोइराला लामो समयसम्मको भारत निर्वासनबाट नेपाल फर्किनुभएको थियो । उहाँ एक व्यक्ति हुनुहुन्थ्यो तर उहाँको विचार, लक्ष, नीतिबाट सिंगो नेपालको पञ्चायती व्यवस्था र त्यसका संवाहक सञ्चालकहरू थर्कमान बन्नपुगेका थिए ।
जसरी राजा रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरीलाई भारत प्रवासबाट नेपाल फर्किँदा रणबहादुर शाहकै अर्की रानी सुवर्णप्रभाले बाटो छेक्न सेना पठाएकी थिइन् तर राजेश्वरीले ती सेनालाई समेत आफ्नो विचारले प्रभावमा पारी नेपाल प्रवेश गर्न सकेकी थिइन् सोही घटनाको सादृश्य बीपी कोइरालामा पनि तीसको दशकको त्यस दिनमा देखिएको थियो । नेपालको इतिहासमा यस्ता घटनाहरू बेलाबेलामा भई नै रहे । राजेश्वरीपछि रणबहादुर शाहलाई पनि दामोदर पाँडे र राजेश्वरीले बाटो छेक्न सेना पठाएका बेला रणबहादुरले ‘तिमीहरू मलाई राजा मान्छौ कि दामोदर पाँडेलाई ?’ भनेपछि सेनाले राजा त तपाईंलाई नै मान्छौं भने । त्यसो भए राजाले नै आफ्नो देशमा प्रवेश गर्न नपाउने त ? भनेर रणबहादुरले भनेपछि सेनाले बाटो छोडिदिए ।
बीपीलाई पञ्चायतले उपचार सुविधा त दिएन नै साथै आफ्नै देशमा आएर बस्न पनि निषेध गरेको अवस्था थियो । घोषित रूपमा उहाँलाई देश निकाला गरिएको थिएन । त्यसबेला देश निकाला गर्ने व्यवस्था तत्कालीन संविधानमै थियो तर त्यसो नगरिएको व्यक्तिलाई आफ्नो देश आउँदा हवाई मैदानमा हवाईजहाजबाट उत्रिन नदिने र स्वागतमा गएका हजारौं नागरिक तथा शुभचिन्तकहरूलाई लाठीचार्ज गर्ने, मण्डले लगाएर कुटपिट गर्ने तथा पक्राउ गर्ने जस्ता हरकत पञ्चायत सरकारले गरेको थियो । मानिसलाई भौतिक कारबाही होला त्यसले कुनै फरक पर्दैन तर विचारलाई बचाएर राख्नुपर्छ भन्ने मान्यता बीपीमा थियो ।
तत्कालीन अवस्थामा दक्षिण एशियाको राजनीति निकै खतरनाक बाटोबाट आगाडि बढिरहेको थियो । भारतले दक्षिण एशिया क्षेत्रमा आफ्नो हैकम विस्तार गर्दै लगेको थियो । स्वतन्त्र देश सिक्किम भारतमा बिलय गराइएको बेला थियो त्यो । त्यसका अनेकौं सन्दर्भ र प्रसंगहरू छन् तर लेन्डुप दोर्जेलाई इतिहासले एउटा नराम्रो मूल्यांकन गर्ने मोडमा पु¥याएर पछा¥यो । सिक्किमको त्यस घटनाले बीपीलाई झस्कायो । उहाँले इरानको परिस्थिति, अफगानिस्तानको अवस्था आदिका आधारमा नेपालको सार्वभौमिक स्वतन्त्रतामाथि संकट आउने विश्लेषण गर्नुभयो र सातोटा मुद्दा घाँटीका पासो जस्तो रहेको अवस्थामा स्वदेश फर्कने निर्णयमा पुग्नुभयो । उहाँहरू निर्वासनमा बस्नु भएको भारतमा विपक्षीविरुद्ध नियन्त्रण गर्दै निरंकुश शक्ति प्राप्त गर्ने उपायका रूपमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले इमरजेन्सी लगाएपछि अर्काको देशमा बसेर यस्तो दारुण राजनीतिको मूक साक्षी बन्नुभन्दा जे जस्तो अवस्थाको सामाना गर्नुपरे पनि आफ्नै देशमा जानु उचित ठानी बीपीले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किने निर्णय गर्नुभएको थियो ।
उहाँसँग पटनाबाट नेपाल फर्किने समूहमा उहाँकै साख्यै भाञ्जी शैलजा आचार्य, ढुण्डिराज पन्थी, खुमबहादुर खड्का र उहाँका अनन्य मित्र तथा राजनीतिक सहयोद्धा गणेशमान सिंह पनि हुनुहुन्थ्यो । यहाँ आउनासाथ उहाँहरूलाई पक्राउ गरी सिधैं जेलमा पु¥याइयो । उहाँलाई तत्कालीन अवस्थामा मृत्युदण्ड दिन पनि पञ्चायत तयार थियो । तत्कालीन प्रधानमन्त्रीबाटै यस्तो माग भएको थियो । त्यसले यस तथ्यको पुष्टि गर्छ तर बीपीको ‘राजाको र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइबाट राजामा केही सोच पैदा भएको थियो । भरखरै ओखलढुंगा सशस्त्र क्रान्तिको समापन भएको थियो । त्यो क्रान्तिको असफलतापछि बीपीले सशस्त्र क्रान्तिको बाटो त्याग्नुभयो भने राजामा त्यसको प्रभाव रहिरहेकै थियो ।
भनिन्छ, राजा कांग्रेसका मागहरूको सम्बोधनका पक्षमा हुनुहुन्यो तर पञ्चायतका उपल्लो स्तरका नेताहरू र राजसंस्थाबाट व्यापक लाभ लिनेहरूले राजालाई त्यसो गर्न दिएका थिएनन् । अर्कोतिर तेस्रो विश्वका नेतामध्ये एक मानिनु हुने बीपीलाई भारतका जयप्रकाश नारयण, कर्पुरी ठाकुर, चन्द्रशेखरलगायतका नेताहरूको साथ र समर्थन थियो भने विश्वभरका मानव अधिकारका पक्षधर, समाजवादी नेता र बुद्धिजीवीहरूको व्यापक समर्थन थियो । यसका साथै अमेरिकाका तत्कालीन राष्ट्रपति जिमी कार्टरले राजा वीरेन्द्रलाई फोन सम्पर्क गरेर बीपीको बारेमा सोध्ने गर्नुभएको थियो र कूटनीतिक मर्यादाभित्र रही बीपीमाथि कुनै भौतिक बारबाही नगर्न सुझाब दिने गर्नुभएको थियो । त्यसकारण बीपीको जति विरोध गरे पनि उहाँलाई जघन्य प्रकृतिको भौतिक कारबाही गर्न पञ्चयतले आँट गरेन ।
विचारका धनी जनताका नेता बीपीको निष्ठा, आदर्श र उहाँले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको त्रिवेणीमा आजसम्म पनि नेपाली कांग्रेस बाँचेको छ । नत्र वर्तमान समयका नेता र नेतृत्वको प्रवृत्ति हेर्दा यस पार्टीको ७८ वर्षको इतिहास जोगिन र बँच्न सक्ने कुरामा सन्देह नै मान्नुपथ्र्यो । बीपीको विचारले केबल नेपाली कांग्रेसमात्र डोहोरिको छैन अन्य पार्टीहरू र सिंगो राष्ट्रसमेत आजका दिनसम्म पनि उहाँकै विचारबाट प्रभावित छ । त्यस समयको शक्ति सन्तुलन राज संस्था, कांग्रेस र अन्य समूहहरूका बीचमा थियो अहिले राज संस्था छैन । तर राष्ट्रको आवश्यकता र राजनीतिक परिस्थितिको धरातलीय यथार्थताका आधारमा अहिले पनि उहाँका विचारहरूको सार्थकता उत्तिकै छ । आजको दिन यसैकारण महत्वपूर्ण छ र बीपी कोइरालालाई जीवन्त राख्न र नेपालीहरूलाई राष्ट्रिय चरित्र विकास गर्न यस दिनले उत्प्रेरित गरिरहन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा