काठमाडौं । वामपन्थी नेता भीम रावलले ‘नयाँ राजनीतिक यात्रा’ थाल्ने तयारी गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनमा झण्डै पाँच दशक बिताउनुभएका रावललाई नेकपा (एमाले)ले निष्कासन गरेपछि ‘राजनीतिक जीवनको उत्तरार्ध’मा नयाँ राजनीतिक यात्रा थाल्ने तयारी गर्नुभएको हो । पछिल्लो तीन वर्षदेखि ‘जिम्मेवारीविहीन’ रहनुभएका रावललाई एमालेले गत १० पुसमा पार्टीको संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।
उमेरले सात दशक नजिक पुग्नुभएका रावलले आफ्नो पछिल्लो राजनीतिक अभियानबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । पत्रकार सम्मेलनमार्फत उहाँले आगामी योजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । पत्रकार सम्मेलनमै उहाँले नयाँ पार्टी घोषणा गर्ने चर्चासमेत उहाँ निकटै नेताहरूले गरिरहनुभएको छ । तर, उहाँले यसबारे औपचारिक घोषणा भने गर्नुभएको छैन । रावलका स्वकीय सचिव गोविन्द दुलालले पछिल्लो घटनाक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको बताउनुभयो । बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । ‘पछिल्लो घटनाक्रम र आगामी योजनाबारे उहाँले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ,’ हिमालय टाइम्ससँग भन्नुभयो, ‘सबै कुरा त्यही जानकारी दिइनेछ ।’ उहाँले नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा भने उहाँले स्पष्ट जवाफ दिनुभएन । ‘यसबारे उहाँ आन्तरिक छलफलमै हुनुहुन्छ । के गर्ने भन्ने विषयमा अहिले नै घोषणा भएको छैन । केही भए पत्रकार सम्मेलनमै जानकारी होला ।’
तीन दशक सत्ता र शक्तिकै वरिपरि
एमालेले निष्कासन गरेपछि अब के गर्ने ? भन्ने विषयमा रावल आन्तरिक छलफलमा लाग्नुभएको छ । सोमबार बिहान मात्रै उहाँले नेपाली कांग्रेस (बिपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गर्नुभएको थियो । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । तत्कालीन नेकपा विवादअघि राजनीतिको केन्द्रीय पात्र रहनुभएका रावल २०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनपछि भूमिकाविहीन हुनुहुन्थ्यो । दशौँ महाधिवेशनमा रावलले केपी शर्मा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । अध्यक्षमा लड्ने रावलको त्यो निर्णयले निर्विरोध अध्यक्ष निर्वाचित हुने ओलीको चाहनामा ठेस लागेको थियो । त्यसपछि एमालेले उहाँलाई कुनै जिम्मेवारी दिएको थिएन ।
२०४६ सालदेखि नै शक्तिको वरिपरि रहनुभएका रावल २०४६ सालमै झलनाथ खनालको स्वकीय सचिव बन्नुभएको थियो । त्यसयता एमालेबाट निष्कासन हुनुअघि उहाँले राजनीतिमा पछाडि फर्केर हेर्नुपरेको थिएन । २०५२ सालमा पर्यटन राज्यमन्त्री बन्नुभएका रावल २०५५ सालमा पर्यटनमन्त्री हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद हुनुभएका रावल २०६६ सालमा गृहमन्त्री बन्नुभएको थियो । सुदूरपश्चिममा राम्रो प्रभाव जमाउनुभएका रावल २०७२ सालमा उपप्रधान एवं रक्षामन्त्री बन्नुभएको थियो । त्यसपछि एमालेमा किनारमा पर्नुभएका रावल ओलीले संसद् विघटन गरेदेखि नै विपक्षमा लाग्नुभएको थियो । माधव नेपालको एमाले विभाजन गराउँदा अन्तिममा ब्याक हुनुभएका रावल एमालेमा बसे पनि रावल ओलीको नजिक हुन भने सक्नुभएन ।
वाम र प्रजातान्त्रिक समेटेर नयाँ पार्टी बनाउने तयारी
एमालेबाट निष्कासनपछि अरू कुनै पार्टीमा नजाने स्पष्ट पारिसक्नु भएका रावलले नयाँ पार्टी खोल्ने निश्चित छ । तर, कस्तो पार्टी र कहिले घोषणा गर्ने ? यकिन भइसकेको छैन । सम्भवतः बुधबारकै पत्रकार सम्मेलनमा यसको जवाफ मिल्नेछ । उहाँले नयाँ पार्टीमा एमाले अध्यक्ष ओलीको पेलानमा परेका इमानदार नेता/कार्यकर्तालाई आकर्षित गर्ने रणनीति अपनाएको बताइन्छ । एमालेसँग असन्तुष्ट मतलाई तान्नेगरी माहोल बनाउने रावलको तयारी छ । यसमा वाम र प्रजातान्त्रिक समेटेर गैरकम्युनिष्ट पार्टी बनाउनेतिर पनि उहाँले जोड दिएको नेताहरू बताउँछन् । कांग्रेसबाट निष्कासित कर्ण मल्लसँग सोमबार भेट्नुभएका उहाँले आफूले परम्परागत ढाँचाका कम्युनिष्ट पार्टी गठन नगर्ने बताउनुभएको थियो । हाल नेपाली कांग्रेस (बिपी)का उपसभापति रहनुभएका मल्लका अनुसार रावलले सबैलाई समेट्ने गरी अगाडि बढ्ने बताउनुभएको थियो । आफूहरूबीच सकारात्मक छलफल भएको मल्लले बताउनुभयो । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुनुुहुन्छ । ‘एउटा सम्भावना बोकेको नेतालाई उहाँको पार्टीले निष्कासन गरेपछि म नै भेट्न गएको थिएँ । भेटवार्तामा समसामयिक विषयमा कुराकानी भयो,’ हिमालय टाइम्ससँग मल्लले भन्नुभयो, ‘एकदमै सकारात्मक कुराकानी भएको छ । नयाँ ढंगले जाने भए जाने भए भविष्यमा सँगै जान सकिन्छ भन्ने विषयमा पनि कुरा भएको छ ।’ त्यसो भए रावलले गैरकम्युनिष्ट पार्टी खोल्ने वचन दिनुभएको हो ? भन्ने प्रश्नमा मल्लले स्पष्ट जवाफ दिनुभएन । ‘होइन मैले माथि पनि भनेँ । हामीबीच सकारात्मक कुरा भएको छ ।’
यसैगरी, रावलले सोमबारै एकीकृत समाजवादीका नेता एवं स्वतन्त्र प्रदेश सांसद डा. ताराप्रसाद जोशीसँग पनि भेटवार्ता गर्नुभएको थियो । भेटमा जोशीलाई पनि रावलले आफूले नयाँ पार्टी बनाउन लागेको भन्दै मिलेर जान प्रस्ताव राख्नुभएको थियो । रावलले मिलेर जाऔँ भन्ने प्रस्ताव गरे पनि आफूले जवाफ नदिएको उहाँले बताउनुभयो । जोशी पार्टीबाट टिकट नपाएपछि डडेल्धुरा प्रदेशसभा-२ बाट स्वतन्त्र रूपमा निर्वाचित हुनुभएको थियो ।
माधव र वामदेवबीच एक घण्टा वार्ता, निस्केन कुनै निष्कर्ष
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतमबीच सोमबार पनि भेटवार्ता भएको छ । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा दुई नेताबीच पार्टी एकताका विषयमा कुराकानी भएको थियो । तर, एक घण्टा भएको छलफल कुनै निष्कर्षमा भने नपुगेको गौतमले बताउनुभयो । केही राजनीतिक विषयमा निष्कर्ष निकाल्न बाँकी रहेको उहाँले बताउनुभयो । आफूले उठाएका कुरामा नेपालले ठोस ढंगले जवाफ नदिएको गौतमले बताउनुभयो । ‘उहाँले अरू पाँच-सातजना साथीहरूसँग सल्लाह गर्छु भन्नुभयो । त्यसपछि सँगै बसेर छलफल गरौँ पनि भन्नुभएको छ,’ भेटपछि गौतमले भन्नुभयो, ‘कुराकानीको क्रम जारी रहन्छ, अहिल्यै मिलिसकेको छैन ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता