बुटवल । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पुस १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
प्रतियोगितामा नेपालका सात र भारतका एक गरी आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउनेछन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिताका सबै खेल बुटवलस्थित रामनगर खेल मैदानमा खेलाइनेछ । प्रतियोगिताका शीर्ष चारले क्रमशः सात लाख, तीन लाख ५० हजार एक लाख ५० हजार र एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता