नेपालगञ्ज । नेपालगञ्जमा शुक्रबारबाट दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता आरम्भ भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो खेलको विकास र विस्तार तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले हाप्किडो खेलको स्थायित्व र प्रगतिमा सहयोगका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।
त्यसैगरी, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस् यसचिव तिरनदाज गौतमले हाप्किडो खेल नेपालमा सक्रिय रूपमा अगाडि बढिरहेको र यसको दिगो विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण, र प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कोरियन खेल हाप्किडो नेपालमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको उल्लेख गर्नुभयो ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो खेल हिमाल, पहाड र तराईसम्म फैलिएको जानकारी दिनुभयो । उहाँले हाप्किडो खेल समाज रूपान्तरणको एउटा महत्वपूर्ण आधार भएको जिकिर गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीहरूको सहभागिता छ ।






