✍️ विनोद देवकोटा
नेपाली खेलकुद इतिहासको अहिलेसम्मकै ठूलो फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालको खेलकुद उद्योगमा नयाँ उचाइ स्थापित गरेको छ । आठ फ्रेन्चाइज टोलीको सहभागिता, हालसम्मकै ठूलो पुरस्कार राशि र विदेशी खेलाडीको आगमनले खेल महोत्सवलाई राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सफल रह्यो ।
पहिलो संस्करणको एनपिएलको भव्य समापनसँगै नेपाली क्रिकेटले नयाँ आयाम पाएको छ । यसले नेपाली खेलकुद र क्रिकेटमा नयाँ युगको सुरुवात गरेको छ । एनपिएलमा सहभागी आठ टोली नेपालका विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै बनाइएका थिए, जसले नेपालको प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरेको थियो । बागमतीका दुई टोलीबाहेक हरेक प्रदेशका एक-एक टिम थिए । जसले सम्पूर्ण नेपाललाई एकजुट गर्ने काम गरेको गर्यो ।
प्रचारको सन्दर्भमा एनपिएल एकदमै सफल सावित भयो । विश्व प्रसिद्ध स्टार स्पोर्ट्स च्यानलमा प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिएको थियो । जसले नेपाली खेलकुदको दृश्यावलोकन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सफल रह्यो । जसले दर्शकको चासो र रोमाञ्चकता थप बढाएको थियो । यसका साथै ३० भन्दा बढी विदेशी खेलाडीको सहभागिताले प्रतियोगितामा थप उत्साह थप्यो ।
विश्वभरका चर्चित क्रिकेट खेलाडीले नेपालमा आएर प्रतियोगिता खेले । भारतीय क्रिकेट स्टार शिखर धवनदेखि मार्टिन गप्टिल र जिमी निशमजस्ता खेलाडीको उपस्थिति नेपाली खेलकुदको लागि ठूलो उपलब्धि थियो । उनीहरूले नेपाली खेलाडीसँग प्रतिस्पर्धा र आफ्ना अनुभवहरू साझा गरे, जसले नेपाली खेलाडीलाई उच्च स्तरको अनुभव प्रदान गर्न सफल भयो । अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता नेपालको क्रिकेटलाई एक कदम अघि बढाउने आधार बनिरहेको छ ।
एनपिएलमा प्रदर्शित प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक र उच्च स्तरको थियो । प्रत्येक टिमले आफ्नो क्षेत्रको प्रतिष्ठा बचाउन र उत्कृष्ट प्रदर्शन गर्न निकै संघर्ष गरे । जनकपुर बोल्ट्सले पहिलो ट्रफी जित्यो । जनकपुरले एक करोड १० लाखको पुरस्कार राशि हात पार्दा उपविजेता सुदूरपश्चिम र कर्णालीले क्रमशः ५१ लाख र २५ लाख प्राप्त गरे, चौथो भएको चितवन राइनोजले १५ लाख प्राप्त गर्यो ।
नयाँ खेलाडीको उदय
एनपिएलको अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नयाँ खेलाडीको उदय हो । तीन साता चलेको प्रतियोगितामा केही नयाँ खेलाडीको उदय भएको छ । कर्णाली याक्सबाट खेलेका विपिन शर्मा प्रतियोगिताकै उदयीमान खेलाडी बने । उनीमात्रै होइन प्रतियोगिताले घरेलु मैदानबाट आधा दर्जन बढी नयाँ नेपाली खेलाडीको उदय भएको छ । जसले भविष्यमा नेपाली क्रिकेटलाई थप उचाइ प्रदान गर्न योगदान गर्न सक्नेछ । उसो त केही पुराना खेलाडीले आफूलाई प्रमाणित गरेका छन् । लिगमा छाएका नयाँ÷पुराना खेलाडीले उमेर समूहदेखि राष्ट्रिय टिमकै लागि प्रभावशाली योगदान दिन सक्ने सम्भावना देखिएको छ । यति मात्रै होइन, नेपालको ओपनिङको लय समात्ने, फास्ट बलिङ सम्हाल्नेदेखि स्पिन आक्रमणलाई अझै बलियो बनाउने खेलाडी सतहमा आएका छन् । १६ वर्षीय देब्रे हाते स्पिनर विपिनप्रसाद शर्मा, देब्रेहाते ओपनर दिनेश खरेल, फास्ट बलर नन्दन यादव, रिजन ढकाल र मिडियम पेश बलर किशोरले प्रतियोगितामा धेरैको ध्यान ताने ।
इसबाहेक शेर मल्ल र दीपेश कँडेल तथा १९ वर्षीय नरेन साउद पनि एनपिएलमा प्रभाव पार्ने बलर हुन् । कर्णालीले ट्यालेन्ट हन्टबाट खोजेका विपिनले एनपिएलको पहिलो संस्करणमा तहल्का नै मच्चाए । १६ वर्ष मात्रै उमेर भएका देब्रेहाते अर्थोडक्स बलर शर्माको खेल लोभलाग्दो रहृयो । आठ खेल खेलेका शर्माले १३ विकेट लिएर सनसनी मच्चाए । उनले हरेक खेलमा विकेट मात्र लिएनन्, एनपिएलकै चर्चित खेलाडीलाई शिकार बनाए । शर्माले जनकपुरका जिमी निशम, विराटनगरका मार्टिन गप्टिल, चितवनका कुशल मल्ल, लोफ्टिी इटोन, सोहेल तनवीरदेखि लुम्बिनीका बेन कटिङसम्मको विकेट लिए । पछिल्लो समय लेग स्पिनर सन्दीप लामिछानेको खस्कँदो प्रदर्शनबीच नयाँ अनुहारका शर्मा भरपर्दो विकल्प बनेर उदाउने बाटोमा छन् ।
न्युजिल्याण्ड बस्ने दिनेश खरेल एनपिएल खेल्नकै लागि नेपाल आएका थिए । उनले पोखराको ब्याटिङ लाइनअपमा ओपनिङ गर्दा पाँच क्लबविरुद्ध खेले । जसमा सात खेलबाट एक अर्धशतकसहित खरेलले १६२ रन बनाए । दुई वर्षको उमेरमा न्युजिल्याण्ड गएका खरेलले नेपालको राष्ट्रिय टीमबाट खेल्न पाए कहिल्यै नाइँ नभन्ने प्रतिक्रिया दिएका छन् । बलरलाई खेल्न गाह्रो हुने बायाँहाते ब्याटर नेपालमा थोरै मात्रै छन् । यो पोजिसनमा कुशल मल्ल र गुल्सन झा मात्रै भरपर्दा नेपाली खेलाडी हुन् । यसैले देब्रेहाते ब्याटर खरेल ओपनिङकै लागि भरपर्दो खेलाडी बन्न सक्ने देखिएको छ । केही समय अघिसम्म नेपालको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले गर्दै आएका थिए । तर, भुर्तेलको लय पूरै बिग्रिएपछि नेपालले ओपनिङमा नयाँ परीक्षण गरिरहेको छ । तर, सफल भइरहेको छैन । यस्तोमा खरेल भरपर्दो ओपनर बन्ने देखिएको छ ।
बन्दन यादव एनपिएलका अर्का छाप छाडेका खेलाडी हुन् । दाहिने हाते मध्यम गतिका बलर नन्दन पछिल्लो समय अष्ट्रेलिया बस्दै आएका छन् । डेथ ओभरको बलिङले नन्दनलाई प्रभाव पार्न सक्ने खेलाडीका रूपमा चर्चा गरिएको छ । रिजन ढकालले पनि एनपिएलमा बलियो प्रभाव जमाए । राष्ट्रिय टिममा परेर डेब्यु खेलमै विकेट लिएका ढकालले एनपिएलमा चितवन राइनोजबाट खेल्दै राम्रो प्रभाव देखाएका छन् । राष्ट्रिय टिममा रहेका तीव्र गतिका बलर करण केसीको भरपर्दो विकल्पमा ढकाल पर्ने देखिएको छ । राष्ट्रिय टिममा समेत अब करणको विकल्प हेर्न थालिएको छ । यसैले हेटौँडाका तीव्र गतिका बलर ढकाल राष्ट्रिय टिममा स्थान बनाउन सक्ने खेलाडीको रूपमा अगाडि आएका छन् । किशोर महतो एनपिएलबाट पुनः चर्चामा आएका अर्का भरपर्दा बलर हुन् । २५ वर्षीय मिडियम फास्ट बलर महतो एनपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा शीर्ष १० मा स्थान बनाए ।
प्रतियोगिताको भविष्य र गर्नुपर्ने केही काम
एनपिएलको सफलताले नेपाली क्रिकेटको भविष्यमा ठूलो प्रभाव पार्ने छ । प्रतियोगिताले नेपालमा क्रिकेटको लोकप्रियता र आत्मविश्वास बढाएको छ । यो प्रतियोगिता नेपालमा क्रिकेटको विकास र भविष्यका प्रतिस्पर्धात्मक खेलका लागि नयाँ दिशा दिने एक महत्वपूर्ण अवसर हो । यसले न केवल नेपाली क्रिकेटको स्तरलाई उचाइमा पुर्याउने मौका दिने छ, बरु राष्ट्रिय टिमको प्रदर्शन र देशभर क्रिकेटको लोकप्रियता वृद्धि गर्ने काम पनि गर्नेछ ।
एनपिएललाई सही तरिकामा निरन्तरता दिने हो भने यसले नेपालको क्रिकेट उद्योगलाई एक अर्ब (१०० करोड)को उद्योगमा परिणत गर्ने निश्चित छ । यो नेपाली खेलकुद उद्योगको विस्तारीकरण र दिगो आर्थिक स्रोतको रूपमा देखापरेको छ । एनपिएलले आर्थिक दृष्टिले ठूलो अवसर सिर्जना गर्नेछ । विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीको स्तर बढाउनेछ र अन्तर्राष्ट्रिय मञ्चमा खेल्ने अवसर प्रदान गर्नेछ । एनपिएलले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म दिनेछ । जसले क्रिकेटमा करियर बनाउन चाहने युवाहरूलाई मार्गदर्शन गर्नेछ । जब नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्छन्, त्यसले उनीहरूको अनुभव र आत्मविश्वासमा सुधार ल्याउनेछ । यसले राष्ट्रिय टिममा पनि ठूलो प्रभाव पार्नेछ । प्रतियोगिताबाट प्रोत्साहित युवा खेलाडीहरूलाई राष्ट्रिय टिमको हिस्सा बनाउने अवसर हुनेछ, जसले टिमको प्रदर्शनमा सुधार ल्याउनेछ ।
एनपिएलका सबै खेल एउटै एउटा मात्रै मैदानमा आयोजना गरिएको थियो, जुन भविष्यमा धेरै चुनौतीपूर्ण हुनसक्छ । यसलाई देशभरका विभिन्न खेल मैदानमा विस्तार गर्न प्रमुख क्रिकेट मैदानहरूको मर्मत र सुधार आवश्यक छ । यसका लागि नेपालमा क्रिकेटको आधारभूत संरचनामा लगानी र सुधारको आवश्यकता छ । स्थानीय टिम र फ्रेन्चाइजको सहभागिता बढाएर क्षेत्रीय स्तरमा पनि प्रतियोगिताको विस्तार गर्न आवश्यक देखिन्छ । एनपिएल आयोजकले थप प्रायोजक र लगानीकर्तालाई आकर्षित गर्न विज्ञापन र मिडिया रणनीतिलाई अझ राम्रोसँग उपयोग गर्नु पर्नेछ । यसका लागि व्यावसायिक मापदण्ड र संरचनामा सुधार गर्नु आवश्यक छ । यसलाई अझै पारदर्शी बनाउन पनि आवश्यक छ । प्रतियोगिताको व्यवस्थापन र प्रक्रियामा पारदर्शिता र व्यावसायिकता ल्याउन आवश्यक छ । पहिलोपटक यति ठूलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) र यससँग जोडिएका व्यक्तिहरू धन्यवादका पात्र हुन् । अब यसमा सरकारले पनि चासो दिन आवश्यक छ । खैल मैदान बनाउनेदेख भएकालाई स्तरोन्नती गर्न सरकारले लगानी गर्नुपर्छ । सरकारले खेलकुद क्षेत्रमा थप बजेट र स्रोतहरू विनियोजन गर्न आवश्यक छ । (लेखक देवकोटा लोकान्तर डटकमका डेस्क सम्पादक हुनुहुन्छ ।)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता