काठमाडौं । गोल्डेन नेपाली फिल्म अवार्डको पहिलो संस्करणमा ‘पुजार सार्की’ सर्वोत्कृष्ट चलचित्र बनेको छ । अमेरिकाको क्यालिफोर्नियामा आइतबार भएको अवार्ड समारोहमा ‘पुजार सार्की’ उत्कृष्ट नेपाली चलचित्र घोषित भएको हो । सोही चलचित्रबाट दिनेश राउतले पनि उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभयो ।
यस्तै, अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा उत्कृष्ट अभिनेता अभिनेत्री ठहरिनुभयो । अनमोलले चलचित्र ‘फर्की फर्की’ र आँचलले ‘डिग्री माइला’बाट उत्कृष्ट अवार्ड प्राप्त चुम्नुभयो । क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम, ४०३ सिभिक सेन्टर प्लाजामा आयोजना भएको अवार्ड समारोहमा अभिनेता शिव श्रेष्ठलाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।
यस्तै, पपुलर अभिनेतामा प्रदीप खड्का र अभिनेत्रीमा केकी अघिकारीले अवार्ड प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट लेखनमा दीपेन्द्र लामा (नांगो गाउँ), सर्वोत्कृष्ट छायाँकनमा आलोक शुक्ला (नांगो गाउँ), सर्वोत्कृष्ट सम्पादनमा मित्र गुरुङ (उपहार), सर्वोत्कृष्ट सहअभिनेतामा प्रमोद अग्रहरी (अगस्त्य), सर्वोत्कृष्ट सहअभिनेत्रीमा वर्षा शिवाकोटी (परदेशी २), सर्वोत्कृष्ट संगीतकारमा प्रकाश सपुत (बोक्सीको घर), सर्वोत्कृष्ट गायकमा एसडि योगी (नांगो गाउँ), सर्वोत्कृष्ट गायिकामा समीक्षा अधिकारी (बोक्सीको घर), जुरी अवार्डमा बोक्सीको घर र कृटिक्स अवार्डमा गाउँ आएको बाटोले अवार्ड प्राप्त गरेका छन् ।
०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू समावेश गरिएको अवार्डमा सहभागी हुन करिब दुई दर्जन कलाकार अमेरिका पुगेका छन् ।
अवार्डको जुरीमा नेपालबाट वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ अभिनेता सुनिल थापा, चर्चित अभिनेत्री तथा निर्देशक दीपश्री निरौला, वरिष्ठ छायाँकार गौरीशंकर धूजु श्रेष्ठ, अभिनेता सुनिल कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी रहनुभएको छ ।






