काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराइज नेपाल च्यालेन्ज सोमबारदेखि बिहीबारसम्म हुने भएको छ । विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृति प्राप्त प्रतियोगितामा २२ देशका १७४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेसिया, इण्डोनेसिया, इरान, इटाली, युनाइटेड अरब इमिरेट(युएई), जाम्बिया, युगण्डा, इंग्ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन र जापान रहेका छन् । प्रतियोगितामा पुरुष÷महिला एकल तथा युगल तथा मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
१५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेताले क्रमशः एक हजार २०० र ७२० डलर प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनल र क्वार्टफाइनबाट बाहिरिनेलाई क्रमशः ६०० र ४८० डलर प्रदान गरिनेछ ।
यस्तै च्यालेन्जको लगतै पुस १२ देखि १४ सम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज आयोजना हुनेछ । जसमा नेपालसहित भारत, न्युजिल्याण्ड, मलेसिया, थाइल्याण्ड, इरान, युनाइटेड अरब इमिरेट्स (युएई)का १०७ खेलाडीको सहभागिता रहने छ । सिरिजमा ब्बाइज गल्र्स एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
नेपालबाट सिनियरतर्फ नौ पुरुष र सात महिला तथा जुनियरतर्फ समान आठ ब्वाइज र गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइजले १५ हजार अमेरिकी डलरका साथै नेपाली खेलाडीलाई खेल पोशाक र चार सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउनेछ । यसैगरी बाँकी रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश खेलकुद विकास परिषद्का साथै अन्य सहयोगीबाट प्राप्त हुने बताइएको छ । दुवै प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछन् ।






