ललितपुर । छैटौँ संस्करणको गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा चापागाउँमा भएको प्रतियोगितामा आर्मी तीन स्वर्ण, चार रजत र पाँच कांस्यसाथ टिम च्याम्पियन बनेको हो ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा आयोजक तीन स्वर्ण, एक रजत र दुई कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको एपिएफले दुई स्वर्ण, एक रजत र तीन कांस्य जित्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको पुरुषमा एपिएफका अमित महर्जन तथा महिलामा आयोजककी करिष्मा कार्की उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले जनही २५ हजार रुपैयाँ र अनर मोबाइल हात पार्नुभयो । मुवाँथाईका ओमकार मगर उदीयमान खेलाडी चुनिनुभयो । साइशन फुल कन्ट्याक्टले अनुशासित टिमको ट्रफी जित्यो ।
तीनदिने प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपिएफ र सातै प्रदेशका क्लबका गरी १०३ पुरुष र ४९ महिला खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रत्येक तौल समूहका स्वर्ण विजेतालाई ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रोलाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।






