म्याग्दी । गुजमुञ्ज ढुङ्गे घर । तीन वर्ष अघि पुगेको सडक बाहेक कुइनेखानी गाउँमा विकास पसेको छैन । आधुनिक भौतिक पूर्वाधारले नबिटुल्याएकोले कुइनेखानी गाउँलाई म्याग्दीको कुमारी गाउँ पनि भनिन्छ ।
प्राकृतिक सौन्दर्य र प्राङ्गारिक उत्पादनले पुष्टिएको म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ मा पर्ने यही कुमारी कुइनेखानी गाउँ पछिल्लो समय उजाड र कुरुप देखिन थालेको छ ।
पाँच वर्ष अघिसम्म ९६ घर परिवारको बसोबास रहेको यो गाउँमा अहिले ४३ घर धुरी मात्रै बसोबार गर्ने गरेका स्थानीय तबहादुर छन्त्यालले बताउनुभयो ।
म्याग्दीको कर्णाली समेत भनिने कुइनेखानी भौगोलिक रूपमा दुर्गम र सेवा सुविधाको अभाव भएको गाउँ हो । तीन वर्षअघि सडक पुगेर साना सवारी साधन गुड्न थालेसँगै गाउँ खाली हुँदै गएको स्थानीय बताउछन् ।
“मोटरबाटो त आयो तर,मोटर चढेर गाउँ आउने भन्दा गाउँ छोडेर बसाइँ सर्ने बढे”, रघुगंगा गाउँपालिका-८ का वडासदस्य अगेन्द्र छन्त्यालले भन्नुभयो । “बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ। अरु ठाउँमा गाउँमा मोटरबाटो पुगे पछि सुविधा भयो भनिन्छ तर हामीकहाँ सुविधा भएको हो कि होइन हामी दुबिधामा छौँ ” वडासदस्य छन्त्यालले भन्नुभयो ।
कुइने टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालका अनुसार गाउँमा सडक आए पनि विकासका अरु पूर्वाधारहरु नहुँदा सुविधाको खोजिमा गाउँ छोडेर बसाइँ सर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।
गाउँमा मोटरबाटो आए पछि सदरमुकाम बेनी जान दिनभर पैदल हिँड्नुपर्ने बाध्यता हटे पनि अरु समस्या भने उस्तै रहेका उहाँले बताउनुभयो । “मोटर चढेर बेनी पुग्न एकहजार दुईसय भाडा लाग्छ ।बाटो राम्रो छैन । खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यलगाएतका सुविधाहरुबाट हामीहरु ठगिएका छौँ” उहाँले बताउनुभयो ।
भौगोलिक रूपमा विकट रहेको र छरिएका गाउँ बस्ती भएको यस वडामा एक गाउँबाट अर्को गाउँमा जान दिनभरकै पैदल यात्रा गर्नुपर्छ । छरिएर रहेकै गाउँबस्तीका कारण यस वडाको अहिले पनि सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ ।
अहिले गाउँ छाड्ने अधिकांश बालबालिकाको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउँछन् । मुख्यगरी गाउँमा शिक्षाको अवस्था कमजोर रहेको छ। वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय खाली हुँदै गएको छ ।
कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर ५ कक्षासम्म मात्रै पठनपाठन गराउन थालिएको छ । स्तरीय शिक्षाका लागि बालबालिकालाई सहरी क्षेत्रमा लैजाने प्रचलन बढेसँगै गाउँको स्कुल खाली हुँदै गएको वडासदस्य छन्त्यालले बताउनुभयो ।
केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीय लघु जलविद्युतबाट विद्युत सुविधा उपभोग गर्दै आएका स्थानीयले बाढी पहिरोको कारण निरन्तर झन्झट हैरानी बेहोर्नुपरेको छ ।
कुइनेटो परेको खर्कमा तामाखानी भएकोले यस ठाउँको नाम कुइनेखानी रहनगएको बूढापाकाहरुको भनाइरहेको छ । पुर्ख्याैली रूपमा खानी खन्ने सिलसिलामा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको ७८ वर्षिय टेकबहादुर छन्त्यालले बताउनुभयो । खानी खन्ने काम बन्द भएपछि यहाँका स्थानीयको पेसा परिवर्तन भएसँगै गाउँको बसोबास घट्दै गएको उहाँको भनाइ छ ।
अहिले यहाँका अधिकांश युवाहरु वैदेशिक रोजगारीमा छन् । लाहुरेले गाउँबाट बेनी, पोखरा, बुटवल, दाङ, भैरहवालगायतका ठाउँमा बसाइँ सारेका छन् । गाउँबाट सहरमा सर्नेक्रम झन बढेको छ । गाउँमा अहिले बूढापाका र महिला र विदेश जाने प्रयासमा रहेका केही युवा मात्रै गाउँमा रहेका उहाँले बताउनुभयो ।
'युवा लाहुर लागे, हुनेखाने सरेर गए, बूढापाका मरेर गए, हाम्रो पुस्तापछि गाउँमा को रहलान्'
केही समयपहिला एक वडाबाट अर्को वडामा पुग्न झन्डै दिनभर लाग्ने गथ्र्यो । एक पालिकादेखि अर्को पालिकासम्म जान त दुई/चार दिनसम्म पैदल हिडेर बल्ल पुगिन्थ्यो । अहिले म्याग्दीमा त्यो अवस्था भने छैन, यद्यपि गाउँमा युवा नहुँदा गाउँबस्ती र सडक क्षेत्र सुनसान छन् ।
अहिले यहाँका प्रत्येक पालिकामा सडक यातायातको सहजता भएसँगै एक दिनको बाटोमा एक घन्टा र दुई/चार दिनको बाटोमा दुई/चार घन्टामै पुग्न सकिने अवस्था छ ।
यहाँका प्रत्येक स्थानीय तहका गाउँबस्ती अहिले सडक सञ्जालको पहुँचमा पुगेसँगै आवतजावत तथा स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्नसमेत सहज भएको छ ।
तर पनि यहाँका अधिकांश युवा भने घर तथा गाउँबस्ती छाडेर धमाधम विदेश पलायन हुँदै आएका छन् । यहाँका गाउँबस्तीमा विकास पुगे पनि युवा भने रोजगारीका लागि दिनप्रतिदिन विदेश जाने क्रम निकै बढ्दै गएको छ । युवा विदेश पलायन भएसँगै यहाँका अधिकांश गाउँबस्तीसमेत खाली हुने गरेका छन् । यहाँका स्थानीयको घरमा ताला लगाइएको पाइन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र सडक सुविधा भए पनि युवाका लागि विदेश स्वर्ग र गाउँ नर्क जस्तै बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच