काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.बालाकृष्ण अधिकारीले ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्रमा आफ्नो विचार राख्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबीचको भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्राडा.विष्णु दहालले पूर्वीय र पाश्चात्य शोध पद्धतिका आधारमा ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले ‘प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्छ, साथै यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने विचार राख्नुभयो । यस किसिमका कार्यशालाले अनुसन्धातालाई लेखन कार्यमा उत्प्रेरित गर्ने उहाँको भनाइ थियो ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको विषय उल्लेख गर्नुभयो ।
ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहको विचार राख्दै त्यसको प्रवद्र्धनका लागि नियमित रूपमा छलफल चलाइएको बताउनुभयो । साथै उहाँले नेपाली कलाको सैद्धान्तिकीकरण र नेपाली कलालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने विचार राख्नुभयो ।






