काठमाडौं । नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न भएको छ । लक्ष्मी सनराइज बैंकको आयोजनामा काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि आत्माराम सिम्खडाले चुम्नुभयो । ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्धतालाई जोड दिएको थियो ।
प्रतियोगितापूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा एक टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रुख वृक्षारोपण गरिनुपर्ने आँकलन गरिएको थियो ।
यद्यपि बैंकले कुल एक हजारवटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यका लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप एक÷एक बिरुवा पनि प्रदान गरिएको थियो ।
एकदिने सो कार्यक्रममा १०७ गल्फरहरूको सहभागिता रहेको थियो । जसमा आठ महिला प्रतियोगी थिए । सहभागीहरूले ३४ हृयाण्डीक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरूको उपस्थिति थियो । विजेताहरूलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सहृदय घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतालाई थप जोड दिएका थिए ।
यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ । कार्बन फुटप्रिन्ट न्यूनीकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्ना गतिविधिहरूलाई अभियानसँग एकीकृत गरिरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणीरूपमा स्थापित गर्दै आएको छ । लक्ष्मी सनराइज बैंकले विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरू गरिरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता