
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा शनिबार राती नेपालले अफगानिस्तानलाई २-० ले हराएको हो । नेपालले अफगानिस्तानलाई १३ वर्षपछि हार चखाउन सफल भएको हो । नेपालले पछिल्लोपल्ट सन् २०११ मा अफगानिस्तानलाई १-० ले हराएको थियो ।
सन् २०११ कै डिसेम्बरमा भारतमा सम्पन्न च्याम्पियनसिपमा अफगानिस्तानले अतिरिक्त समयमार्फत् नेपाललाई १-० ले हराउँदै बदला लिएको थियो । लगत्तै दशौँ साफमा पनि अफगानिस्तानले नेपाललाई १-० ले नै पराजित गर्यो । यी दुवै हार नेपालले सेमिफाइनलमा सामना गरेको हो । दशौँ संस्करणमा नै भारतलाई हराउँदै अफगानिस्तान च्याम्पियन पनि बन्यो ।
त्यसपछि आफ्नो फुटबल स्तर सुधार गर्ने लक्ष्यसहित अफगानिस्तानले साफ खेल्न छाडेको थियो । त्यसयता नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थिएन । साफ विजेता बनेपछि अफगानिस्तान मध्य एसियन फुटबल च्याम्पियनसिप खेल्न थालेको हो । तर, लामो पर्खाइपछि भएको भेटमा नेपालले अफगानिस्तानमाथि जित रच्न सफल भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको थियो । नेपालले अग्रता लिएपछि रक्षात्मकरूपमा बलियो प्रदर्शन गरेको थियो । खेलको ७८औँ मिनेटमा नेपालले अग्रता दोब्बर पार्न सफल भयो ।
रोहित चन्दले राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्ने क्रममा नेपाललाई २-० ले अघि बढाउनुभयो । कर्नरमा डिफेन्डरले क्लियर गरेको बललाई रोहितले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गर्नुभएको थियो । खेलको ८७औँ मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २-० को स्थितिमा राख्नुभयो । उहाँले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पार्नुभएको थियो ।
नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाए पनि यसपटक भने खेल्न पाएको थियो । अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच