हेटौंडा । तेस्रो संस्करणको ‘हेटौंडा रन’ दौड प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजन मंसिर ४ गते मंगलबार पाँच किलोमिटरको दौड प्रतियोगिता हुनेभएको हो । आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
समिति अध्यक्ष रवीन्द्र घिमिरेका अनुसार प्रतियोगितामा करिब तीन लाख रुपैयाँको खर्च अनुमान गरिएको छ । दौडको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सान्त्वना पुरस्कार पाँच हजार, पाँचौं पुरस्कार तीन हजार र प्रोत्साहन पुरस्कारस्वरूप दुईजनालाई चार हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । हेटौंडाको बुद्धचोकबाट सुरु हुने दौड भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शीतलमहल चोक, ओमभवन हुँदै पुनः बुद्धचोकमा आएर समापन हुने जनाइएको छ ।






