म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा पाओकेलाई २-० ले पराजित गर्दै युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको हो । अमाद डायलोले दोस्रो हाफमा गरेको दुई गोलसँगै घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले जितविहीन यात्रा टुंगाएको हो । यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो ।
युनाइटेडले युरोपमा अन्तिम जित गतवर्ष अक्टोबर २४ मा च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध निकालेको थियो । खेलको ५०औं मिनेटमा डायलोको पासिङ हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । ७७औं मिनेटमा उहाँले नै डिफ्लेक्टेड सट प्रहार गरेर गाल गर्नुभयो । निस्टेलरोयको नेतृत्वमा युनाइटेडले तीनमध्ये दुई खेलमा जित हात पारेको छ, जसले आइतबार लेस्टरविरुद्ध थप एक खेल खेल्नेछ ।
त्यसपछि उहाँले प्रशिक्षकको जिम्मेवारी रुबेन अमोरिमलाई सुम्पिनु हुनेछ । रुबेनको आगमनसँगै उहाँको भूमिका के रहने स्पष्ट भइसकेको छैन । तर, लगातार खराब प्रदर्शन गरिरहेको युनाइटेडले निस्टेलरोयको प्रशिक्षणमा राहतको सास फेरेको छ र राम्रो स्थितिमा पुगेको छ । इंग्लिस प्रिमियर लिगमा युनाइटेड १४औं स्थानमा झरेपछि र युरोपको दोस्रो प्रतियोगिता युरोपा लिगमा जित हासिल गर्न नसकेपछि मुख्य प्रशिक्षक एरिक टेन हागलाई गत साता बर्खास्त गरिएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता