काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म हुने भएको छ । नेपाल भलिबल संघको दशौँ पूर्ण बैठकले पहिलोपटक हुन लागेको काभा पुरुष क्लब च्याम्पियनसिप ८ सेप्टेम्बर देखि १४ सम्म (मंसिर २२ देखि २९ गते) आयोजना गर्ने निर्णय गरेको हो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रमअनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यस वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि संघले काठमाडौंमा काभा वुमन्स नेसन्स लिग आयोजना गरेको थियो । जहाँ नेपाल उपविजेता बनेको थियो ।
यस्तै, बैठकले सातौँ महिला तथा आठौँ पुरुष बिच भलिबल प्रतियोगिता माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटे बिचमा आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी गत महिना श्रीलंकामा भएको काभा पुरुष यू-२० भलिबल च्याम्पियनसिपमा रजत जितेको नेपाली टोलीका खेलाडीलाई ३० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णयसमेत भएको छ ।
यस्तै, खेलकुद पुरस्कार कार्यविधिअनुसार पाउनुपर्ने पुरस्कारका लागि संघले राष्ट्रिय खेलकुद परिषद्मा कागज पत्रसमेत बुझाइसकेको संघले जनाएको छ ।
मिसन २०२६ अन्तर्गत मंसिर १ देखि सुरु हुन लागेको विभिन्न खेलको बन्द प्रशिक्षणमा महिला भलिबल पनि समावेश छ । २०औँ एसियन गेम्सलाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण पनि मंसिर १ गतेदेखि हुनेछ । दशौँ पूर्ण बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पास गरेको छ ।






