ललितपुर । ललितपुरको जावलाखेल मैदानमा आयोजित गोदावरी पुष्प मेलामा एक करोडभन्दा बढीको कारोबार भएको छ । चार दिन सञ्चालित मेला ४३ हजार छ सयले अवलोकन गरेको र एक करोड १८ लाखको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) ले जनाएको छ । फ्यानका अनुसार कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन छ हजार नौ सयले अवलोकन गरेको र २५ लाखको कारोबार भएको हो भने दोस्रो दिन नौ हजार आठ सयले अवलोकन र २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
तेस्रो दिन १५ हजार नौजनाले अवलोकन र ५० लाखको कारोबार भएको थियो भने अन्तिम दिनमा ११ हजारले अवलोकन र २८ लाखको कारोबार भएको आयोजकले जनाएको छ । मेलामा ४० हजार बढीले अवलोकन तथा एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको प्रक्षेपण भए पनि लक्ष्यभन्दा बढी कारोबार र अवलोकनकर्ता भएको मेला संयोजक रामबहादुर तामाङले बताउनुभयो । पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउन प्रदर्शनी आयोजना गरिएको हो । मेला अवधिभर अवलोकनकर्ताको सबैभन्दा बढी बहुवर्षे फूलप्रति आकर्षण भएको देखिएको फ्यानका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताउनुभएको छ ।
मेलामा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल दुई, अफिसियल स्टल चार र फोटो पारखीका लागि सेल्फी स्टल एक गरी कुल ७५ स्टल रहेका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार विधा(मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ) मा प्रतिस्पर्धा गराइएको थियो । फ्यानका अनुसार हाल ५२ जिल्लामा लगभग दुई सय ६० हेक्टरमा पुष्पखेती हुँदै आएको छ भने एक हजार एक सय ७४ भन्दा बढी पुष्प व्यवसायी संलग्न छन् । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी अनुमानित ५१ हजार पाँच सयभन्दा बढी जनशक्ति पुष्प व्यवसायमा संलग्न रहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात एक करोड दुई लाख १२ हजार र आयात २७ करोड ७९ लाख पाँच हजारको रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts