म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले म्याग्दीको सदरमुकाम बेनीमा रहेको चारसय वर्ष पुरानो भद्रिवम शिवालय तत्कालिन पर्वत राज्यको चिनो भएकोले यसको संरक्षण र विकासमा गण्डकी प्रदेश सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।
ऐतिहासिक भद्रिबम शिवालय मन्दिरको नबौं साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै सांसद गौचनले जिल्ला सदरमुकाममा नै रहेको यस्तो ऐतिहासिक र धार्मिक सम्पदाको प्रचारप्रसार गरी मुक्तिनाथ जाने र त्यहाँबाट फर्कने पर्यटक र तीर्थयात्रीहरुलाई समेत आकर्षित गर्न सकिने भएकोले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको हो ।
सांसद गौचनले बाइसे चौबिसे राज्यका पालामा निर्मित मन्दिरले प्राचिन धार्मिक सभ्यता झल्काउने भएकाले यसको संरक्षणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको स्थानीय विक्रम श्रेष्ठले बताउनुभयो । शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ । शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल घेरिएको छ । देख्दै अनौठो लाग्ने यो शिवालयको इतिहास भाइभाइबीचको आपसी वैमनश्यता र त्यसपछि उत्पन्न परिणामसँग सम्बन्धित छ।
तत्कालीन पर्वत राज्यका राजा बलेबम मल्ल र भाइ भद्रीबम मल्लको आन्तरिक कलह तथा षड्यन्त्रका कारण कमजोर बनेको पर्वत राज्य र भद्रीबम मल्लको हत्यासँग यो शिवालयको गहिरो सम्बन्ध छ ।
शिवालयको इतिहास
पर्वत राज्यको इतिहासमा उल्लेख भएअनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम (दिलीप बम) मल्लले विसं १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरेको इतिहास छ। राजा डिम्बपछि छोरानाति नाग मल्ल, प्रतापीनारायण मल्ल, राज मल्ल, नर्सिङ मल्ल, नागवी मल्ल, नारायण मल्ल, कुँवर मल्ल, घनश्याम मल्ल र मलेबम मल्ल राजा भएको इतिहास छ ।
नलैबमले आफ्ना भाइ भर्तिबमलाई ज्यामरुककोटको शासनभार (कजाइ खान) सुम्पेको बताइन्छ। पछि मलेबम र भर्तिबमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेबमले भाइ भर्तीबमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिबमले “दियाँ पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन”, भनी अड्डी लिएपछि मलेबमले गुप्त षड्यन्त्र गरी भर्तिबमलाई पक्रन पठाएको बताइन्छ ।
भर्तिबम उहाँका मित डिल्ली भुजेलसहित भागेर लामगरा (लुङ्दी) मा पुगेको इतिहासमा उल्लेख छ । भर्तिबमलाई दाजु मलेबमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उहाँलाई मारिएपछि शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती रहेको छ ।
राजा मलेबम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत तथा किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न भाइ भद्रीबमको शिर ल्याई बेनीमा भाएको नाममा शिवालय मन्दिर स्थापना गरी भद्रिवम शिवालय नामाकरण गरेर राजा मलेबमले पूजाआजा गरेको इतिहास छ ।
नयाँ कार्यसमिति चयन
ऐतिहासिक बेनी (भद्रिबम) शिवालय मन्दिरको नबौं साधारणसभा तथा चौथो अधिवेशनबाट दलप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सुन्दर केसी, सचिव पूर्णबहादुर जिसी, कोषाध्यक्ष भावना पौडेल, सह-सचिव अर्जुन पौडेल, सह-कोषाध्यक्ष गोपाल भट्टचन चयन हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरूमा हरिमायाँ श्रेष्ठ, डम्बर श्रेष्ठ, हरिकला श्रेष्ठ, सिता भण्डारी, भिमकुमारी भण्डारी बालकुमार महत, शिव भट्टचन र साधना जिसी रहेको निर्वतमान अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिनुभयो ।






