म्याग्दी । पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथियस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेकाे बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविर सम्म पुगेर फर्किनु भएको छ ।
गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोग शनिबार आफ्ना बुबा मौरिस हर्जोगका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुग्नुभएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिस हर्जोग सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो ।
बुबा हिडेको बाटो हेर्न र हिड्न अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ । माथियसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
माथियसलाई उद्घृत गर्दै उहाँसँगै अन्नपूर्ण आधारशिविर जानुभएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भन्नुभयो, ‘‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ । अन्नपूर्णको पर्यटकीय सम्भावनाका वारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग,आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकहरुलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’’
अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविर स्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको शालिकमा माल्यापर्ण गर्नुका साथै सामुहिक तस्विर पनि खिच्नुभएको थियो । उहाँले आधार शिविर पुगेर केही बेर ध्यान पनि गर्नुभएको गुरुङले बताउनुभयो ।
गुरुङले भन्नुभयो, ‘‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि उहाँ दङ्ग पर्नुभयो ।’’
आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमा सहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिवद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार पिताले लेखेको द अन्नपूर्ण किताबलाई नेपाली लगायत अन्य भाषाहरुमा पनि अनुवाद गरेर प्रकाशित गर्ने कुरा माथिएसले बताउनुभएको छ ।
हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिक समेत राखेको छ । माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा