काठमाडौं । सरकारको नेतृत्वमा स्थापित भएको एक सय दिन बितिसक्दा पनि दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमण नजुरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनको भ्रमण तयारी थाल्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयले छठलगत्तै प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्नुहुने जनाएको छ । नेपालका प्रधानमन्त्रीले सामान्यतया भारतको भ्रमण पहिले गर्ने प्रचलन जस्तै बनेको थियो । प्रधानमन्त्री ओलीको चाहना पनि भारतबाटै भ्रमण सुरु गर्ने थियो । यद्यपि, भारतीय संस्थापनले समय मिलाउन नसकेपछि ओलीको औपचारिक भ्रमण हुन सकेको थिएन । गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । मोदी नेपाल आउने चर्चा चले पनि लामो समयसम्म टुंगो नलागेका कारण प्रधानमन्त्रीले चीन जाने तयारी गर्नुभएको बताइन्छ ।
‘प्रधानमन्त्रीले कात्तिक अन्तिम वा मंसिर पहिलो साता चीनको भ्रमण गर्नुहुने छ । दुवैतर्फ तयारी भइरहेको छ केही दिनमा औपचारिक घोषणा हुन्छ’, प्रधानमन्त्रीको सचिवालयनिकट स्रोतको भनाइ छ । चीन भ्रमणका क्रममा दुई पक्षीय हितका साथै बिआरआई परियोजना, ऊर्जा तथा जलस्रोत व्यापार लगायतका विषयलाई प्राथमितामा राखिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । बिआरआईको फ्रेमवर्कमा सन् २०१७ मै सहमति भइसके पनि कार्यान्वयनमा विलम्ब हुँदै आइरहेको छ । चिनियाँ पक्षले बिआरआई कार्यान्वयनमा नेपाल पक्षलाई चासो राख्दै आइरहेको छ । ओली २०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री बन्दा चीनसँगको सम्बन्ध सरकारको विशेष प्राथमिकतामा परेको थियो । त्यतिबेला नै काठमाडौं-केरुङ रेलमार्गसम्बन्धी परियोजनामा सहमति भएको थियो ।
परराष्ट्रमन्त्री डा.आरजु देउवाले गत भदौमा भारत भ्रमण गर्दा भारतीय पक्षले उच्च महत्व दिएको थियो । परराष्ट्रमन्त्री देउवाले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । ‘परराष्ट्रमन्त्री र प्रधानमन्त्री दुवै जनाले निम्तो दिए पनि भारतीय प्रधानमन्त्री तत्काल नेपाल आउने सम्भावना देखिएन’, परराष्ट्र स्रोतको भनाइ छ । अहिले प्रधानमन्त्री ओलीकै निर्देशनमा चीन भ्रमणको तयारी भइरहेको हो । नेपालले भारतीय प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइरहे पनि भारतीय पक्षबाट भने प्रधानमन्त्रीलाई औपचारिक निम्तो आएको छैन ।
कूटनीतिक अर्थ रहन्छ : वाग्ले
परराष्ट्र मामिलाका जानकार गेजा शर्मा वाग्ले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट औपचारिक भ्रमण सुरु गर्ने विषयको कूटनीतिक अर्थ रहने बताउनुहुन्छ । नेपालको प्रधानमन्त्रीले सामान्यतया भारतबाट कूटनीतिक भ्रमण गर्ने चलन रहे पनि त्यसो नहुँदा कूटनीतिक क्षेत्र तरंगित बनेको उहाँको भनाइ छ । ‘भारतबाट भ्रमण हुने प्रचलन हो । भारतको भ्रमण पहिले हुन सकेन भन्दा पनि भारतले प्रधानमन्त्री ओलीलाई किन औपचारिक निम्ता गरेन ? भन्ने कुराको अर्थ रहन्छ’, वाग्लेले भन्नुभयो । यस्तो घटनाबाट नेपालमा बनेको ओली सरकारसँग भारतको सम्बन्ध ‘चिसो’ रहेको सन्देश प्रवाह हुने उहाँले बताउनुभयो । नेपालका लागि भने छिमेकी मुलुकबाटै औपचारिक भ्रमण हुने कुरा सामान्य हुनुपर्ने उहाँले बताउनुभयो । ‘उत्तरी छिमेकी चीनबाट हुने भ्रमणबाट नेपालको विकासका सन्दर्भमा लाभ लिने अवस्था बन्न सक्छ । यो भ्रमणलाई हामीले सकरात्मक नै मान्नुपर्छ’, वाग्लेले हिमालय टाइम्ससँग भन्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता