इलाम । सुर्योदय पर्यटनको प्रवर्द्धन भएको इलामको श्रीअन्तुमा पर्यटन व्यवसायमा लगानी बढेको छ । आन्तरिकसँगै बाह्य पर्यटकहरुको गन्तव्य भएको अन्तुमा अहिले पर्यटकको सेवाका लागि होटल र कटेज स्थापनामा बाह्य लगानी बढेको हो ।
हरियो चियाबारीले घेरिएको अन्तु पोखरी वरिपरि अहिले होटल र कटेजले भरिएका छन् । सुर्योदय पर्यटनको विकास भएको श्रीअन्तु क्षेत्रको अन्तु पोखरी वरिपरिका होटल र कटेजमा दैनिक सयौँ पर्यटकको बास हुन्छ ।
श्रीअन्तु क्षेत्रको भञ्ज्याङ क्षेत्रमा पनि अहिले होमस्टेसँगै होटलहरु खुल्ने क्रम बढेका छन् । अन्तु क्षेत्रमा पर्यटकहरुको चाप बढेपछि अन्तुबासीसँग जग्गा भाडा लिएर र खरिद गरि होटल कटेजमा लगानी गर्ने व्यवसायीको संख्या बढेको हो । अन्तु क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि समुदायले घरबास कार्यक्रम सुरुवाती दिनमा संचालन गरेका थिए । तर अहिले पर्यटकको चाप बढेपछि होटल र कटेजमा बाह्य लगानी भित्रिएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेले बताउनुभयो ।

श्रीअन्तु पर्यटन व्यवसायी संघमा अहिले ७२ वटा होटल र कटेजहरु दर्ता भएका छन् । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन शासक लेप्चा जातिको इतिहासको अध्ययनको थलो हो । कृषिबाट सुधारिएको जीवनशैली, व्यावासायीक फूलखेती, थुम्काथुम्काको चियाबारी पर्यटकका आकर्षणस्थल हुन् ।
अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले पोखरीमा डुङ्गा चलाएपछि पर्यटक थप आकर्षित भएका छन् । अन्तुमा नेपाल, भारत र भुटान देशका पर्यटकहरु पुग्ने गरेका छन् । अन्तुमा पर्यटन प्रवर्द्धनका लागि भ्यूटावर निर्माण भएको छ । अन्तु टावरबाट सूर्योदय हेर्न दैनिक सयौँको संख्यामा पर्यटक पुग्ने गरेको पर्यटन व्यवसायी राधिका रानाले बताउनुभयो ।
मेची राजमार्गको फिक्कलबाट करीब १३ किलोमिटर पूर्वको रमणीय स्थान अन्तुमा पुग्न पक्कि सडक छ । अन्तुमा घरबास कार्यक्रम लोकप्रिय छ । अन्तुमा पर्यटक पुग्ने मुख्य सिजन अशोज, कात्तिक, मंसिर, फागुन, चैत्र र बैशाख हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts