पाल्पा । पाल्पाको रामपुरमा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज क्लबको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित दोस्रो संस्करणअन्तर्गत प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा रूपन्देही, पोखरा, काठमाडौं, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका १० क्लबका खेलाडी सहभागी छन् । प्रतियोगितामा गन्नी फुटबल क्लब (पोखरा), देवदह ब्वाइज (रूपन्देही), आयोजक ज्योतिपुञ्ज युवा क्लब, होराइजन क्लब (वालिङ), भैरव स्पोर्ट्स (नवलपरासी), युनाइटेड युथ क्लब गिरवारी (पूर्वी नवलपरासी), फर्साटिकर फुटबल क्लब (रूपन्देही), त्रिशक्ति युथ क्लब (काठमाडौं, २८ बिघा युथ क्लब (कावासोती–पूर्वी नवलपरासी) र न्यु युथ युनियन तानसेन (पाल्पा)ले प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार भएको उट्घाटन खेलमा फर्साटिकर युथ क्लब र भैरव स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि ट्राइब्रेकरमा गएको थियो । फर्साटिकर क्लबले भैरव क्लबलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद तीन लाख तीन हजार तीन सय ३३ र उपविजेताले एक लाख ७७ हजार सात सय ७७ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ र प्रत्येक विधामा सात हजार ७७७ व्यवस्था गरिएको खेल संयोजक शाहीले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता