काठमाडौं । सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको उपभोक्ताको गुनासोपछि सरकारले गहुँ आपूर्तिका लागि पहल सुरु गरेको हो । हाल भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मैदा उद्योगीले गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् ।
मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायतका व्यवसायीबाट गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनुभयो । गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उहाँको भनाइ छ । मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् ।
व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइए अनुगमन गरी कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ । बजारमा गहुँ अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए तापनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताउनुभयो ।
व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन आग्रह गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार्य नहुने भन्दै त्यस्ता क्रियाकलाप निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कारबाही गरिने बताउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता