काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पुर्याएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताउनुभएको छ । शनिबार आयोजनास्थलको अवलोकन भ्रमणमा पुग्नुभएका उहाँले वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको आयोजनाको बाँध क्षेत्र, विद्युत्गृह, पहुँचमार्गलगायत संरचनासमेत अवलोकन गर्नुभएको थियो ।
‘आयोजना लामो समय बन्द हुँदा ऊर्जा संकट उत्पन्न हुन सक्छ । त्यसैले छिटो सञ्चालनमा ल्याउन यसको मर्मतसम्भार तथा पुनर्निर्माणमा मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्नेछ ।’
सोही क्रममा उहाँले आयोजनामा क्षति पुग्दा राज्यले दैनिकरूपमा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै यथाशक्य चाँडो मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको थियो । मन्त्री खड्काले भन्नुभयो, ‘आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब ८५ करोड छ लाख ४७ हजार नौ सय ३० रुपैयाँ घाटा बेहोर्नुपरेको छ, यसको प्रत्यक्ष असर राज्य र जनतामा परेको हुँदा उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउनुपर्यो, आयोजना लामो समय बन्द हुँदा ऊर्जा संकट उत्पन्न हुन सक्छ । यसको मर्मतसम्भार तथा पुनर्निर्माणमा मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्नेछ ।’
आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले तीन हप्ताभित्रै थोरै भए पनि विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार हेडवक्र्स क्षेत्रमा थुप्रिएको ढुंगा, माटो र ग्रेगान हटाउने काम भइरहेको छ भने दोलखादेखि लामाबगर सडक खण्डस्थित काभ्रेभिर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा आउनजान समस्या परेको छ । आयोजना अवलोकनमा मन्त्रीका साथै सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायत रहेका थिए ।






