काठमाडौं । उत्पादन महाअभियान नेपालले अर्बैंको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्गानिक स्याउ बारीमै कुहिन लागेको जनाएको छ । महाअभियानले शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै गोरखामा तीन वर्षदेखि व्यावसायिक स्याउ उत्पादन हुन थालेको भए पनि बाटो अभावले स्याउ बजारमा आउन नसकेको जनाएको छ । उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डित (तुफान) ले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसान पलायन हुनबाट रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा लाखौं किलो स्याउ फलिरहेको छ । यो क्षेत्र स्थानीय नेपाली स्याउ फल्ने विशेष क्षेत्र हो । तीन वर्षयता यहाँ व्यावसायिक स्याउ उत्पादन हुन थालेको छ । बाटो अभावका कारण उक्त स्याउ बजारमा आउन सकेको छैन । यसतर्फ राज्यका सम्पूर्ण निकायहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ । यद्यपि सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । त्यसैले किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसान पलायन रोक्न राज्यको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ दुर्ई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउने विषयमा गम्भीर छलफल आवश्यक रहेको पण्डितको भनाइ थियो ।
महाअभियानको पहलमा हेलिकप्टरबाट चार सय ५० केजी स्याउ बजार पुर्याउँदा प्रतिकेजी छ सय ६६ रुपैयाँ पर्न गएको उल्लेख गर्दै उहाँले सरकारले बाटोघाटो निर्माणमा समेत तदारुकता देखाउन जरुरी रहेको बताउनुभयो ।






