धरान । ‘विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनोट गरेका १० श्रेष्ठ कृतिहरू सार्वजनिक गरिएको छ । धरान-१८ मा रहेको कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार छनोटमा परेका कृतिहरुको नाम सार्वजनिक गरेको हो ।
छनोट भएका पुस्तकहरुमा दाजु गुरुङको उपन्यास ‘निरजोया’, अभय श्रेष्ठको कवितासंग्रह ‘लहना र तीर’, गगन योक्पाङ्देनको कवितासंग्रह ‘केवाफुङ्को गीत’, मोमिलाको निबन्धसंग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी ‘नेपालमा सुरुङ युद्ध’, इन्दु नेपाल योञ्जनको कवितासंग्रह ‘अन्तिम सेलो’, प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’, अखण्ड भण्डारीको उपन्यास ‘बोरा’, प्रवीण खालिङको निबन्धसंग्रह ‘चियागफ’, र मञ्जुला तामाङ सुब्बाको कवितासंग्र्रह ‘कुहिरोभित्र घुम जोरबंगलो’ छन् ।
कृति छनोटका लागि स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ वटा पुस्तक प्राप्त भएको आयोजकले जनाएको छ । यिनै १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्रसहित-२०८० सालको विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । पुरस्कार राशी दुई लाख रुपैयाँको छ । पुस्तकालयले दुई वर्षअघिदेखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।
यसैगरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनोट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कवितामध्ये १० कविता छनोट गरिएको आयोजकले जनाएको छ । पुस्तकालयले सार्वजनिक गरेका कविताहरूमा खोटाङका अनाम अपेक्षितको ‘एउटा सडकको समालोचना’, संखुवासभाका सिजन श्रेष्ठको ‘तेजबहादुर दर्जी’, नवलपरासीका अञ्जान प्रदीपको ‘सपना’, बेलायतका शान्ति लिम्बुको ‘थेम्स नदीको किनारै किनार’, मोरङका समीक्षा छिलिङ राईको ‘फूल र म’, इलामका दीपेन्द्र आचार्यको ‘ल्याप्चे’, सुनसरीका मिञ्जाई राईको ‘बुढो परदेशी’, फ्रान्सका प्रशान्त उप्रेतीको ‘विलासी राता बाकस’, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमको ‘रैथाने बगैंचाको अर्गानिक मुस्कान’ र सुनसरीका दीपा मग्रातीको ‘देशमा मेरो अनुहार’ रहेका छन् ।
उत्कृष्ट १० मध्ये प्रथमलाई नगद २१ हजार रुपैयाँ, दोस्रोलाई १८ हजार रुपियाँ र तेस्रोलाई १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीनजनालाई २०८१ कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३औं जन्मजयन्ती तथा ३३औं राष्ट्रिय कविता महोत्वमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts