✍️ यमपी पाण्डे
आउ रात !
एकपटक निर्वश्त्र भइदेऊ तिमी
औंसीले ओढाएको श्यामश्वेत घुम्टो
पूर्णिमाको जिम्मा लाएर
खोल !
बहुरूपी बादलका बहुराष्ट्रिय अंगवस्त्रहरू
निष्पट्ट निशाको मुहारमा, जुनले जुल्क्याउनुअघि
ताराहरूले लुकीछिपी झ्यालको पर्दाबाट चियाउनुपूर्व
मैले बतासलाई भनिसकेको छु
उज्यालो बोकेर नहिँड्नु केही समयका लागि
भनिसकेको छु जुनकीरीलाई पनि
गाउँ गाउँ चहार्न मनाही छ, पुच्छरमा राँको बालेर
भर्खर आफैं निभाएर आएको छु गाउँका टुकी
शहरका बिजुलीहरू
अब पानी हाल्न जाँदैछु ताता चुल्हाहरूमा
निषेध गरेको छु,
टर्चलाइट, मोबाइल, सलाई, लाइटरलगायतका
उज्याला उपकरणहरू सल्काउन, जलाउन र बाल्न ।
ता कि,
सहजै लुट्न सकुँ म
तिम्रो अक्षुंण अस्मिता
तिम्रो गर्व र स्वतन्त्र स्वाधिन अस्तित्व
मेरो वाचा भयो गर्भिणी हुन दिने छैन तिम्रा ओठहरू
यो अन्धो समाजले प्रष्ट देख्ने गरी
गोजीमै छन् केही थान सेफ्टीहरू
केही पत्ता निलोकनहरू
मलाई थाहा छ,
तिम्रो कुमारी स्वाद जाँच्न खोज्नेछ एकदिन
भोलिपर्सी तिम्रो हुनेवाला लोग्नेले
तसर्थ ढुक्क भए हुन्छ
पेट नबोकुञ्जेल थाहा पाउने छैन ऊ
दूधमा पानी मिसाइएको मीठो झुठ ।
नभए
जबर्जस्ती गर्न पनि आउँछ हामीलाई
यति ख्याल राख्नू
बृन्दाको सत्य डगाउने पनि हामीमध्येकै कोही हो
द्रौपतीको सारी तन्काउने पनि हाम्रै समाज हो
नपत्याए निर्मलाको अबोध आत्मालाई सोध
भागीरथीको श्वास छिनाइएको भूगोललाई सोध ।
नाईनास्ती
नगरेकै जाति
आऊ ! एकपटक निर्वस्त्र भइदेऊ तिमी
पटक–पटक नांगिएको
मेरो देशको राजनीतिक संस्कारजस्तो
सिमानापारि पुगेर कन्धनी खोल्दै हिँड्ने सरकारजस्तो
भट्टी पसलमा मोलमोलाई हुने कानुनजस्तो
आऊ ! एकपटक निर्वस्त्र भइदेऊ
युवा रगत, दक्ष जनशक्तिको लिलामीसँगै
उर्बर जमिन बाँझो राखेर अनुदान थाप्न
नागिँदै गरेको समृद्धि
र
हलुंगेको कचौरामाथि स्खलित हुँदै गरेको अनुदानजस्तो
आऊ ! रात
एकपटक निर्वस्त्र भइदेऊ तिमी
निसंकोच, निसंदेह
तिमीलाई मात्र केको लाज ?
बिहानीका सपनाहरूले बेश्यावृत्ति गर्न थालेपछि
अचेल त सर्वाङ्ग हृवाङ्ग, छ्याङ्ग पारेर हिँडिरहेको छ झन्
जिगेलो भविष्य
छिल्लिएको घाम ।
छिल्लिएको घाम ।।






