क्यानबेरा । द हङकङ क्रिकेट सिक्सेसमा नेपालविरुद्ध खेल्ने अष्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले ड्यानियल क्रिस्टियनको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो । कात्तिक १६ देखि १८ सम्म हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै इंग्ल्याण्ड र अष्ट्रेलिया छन् ।
प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड र हङकङ, समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’मा श्रीलंका, बंगलादेश र ओमान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । आयोजकले बुधबार खेल तालिका पनि सार्वजनिक गरेको हो । नेपालले कात्तिक १६ गते इंग्ल्याण्ड र कात्तिक १७ गते अष्ट्रेलियाको सामना गर्नेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
अष्ट्रेलियन टोलीमा ड्यानियल क्रिस्टियन(कप्तान), फवाद अहमद, एलेक्स रोस, जेम्स प्याटिन्सन, ज्याक उड, साम हेजलेट र एन्ड्रु फेकिटी रहनुभएको छ ।
यो पाँच ओभरको प्रतियोगिता हो । यसमा एक खेलाडीले एक ओभरमात्र बलिङ गर्न पाउनेछन् । प्रतियोगिताको फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । एक टोलीले ६ खेलाडी मैदान उतार्न पाउने व्यवस्था छ । यदि पाँच खेलाडी आउट भएमा अन्तिम ब्याटरले रनर राख्न पाउनेछ ।
ब्याटरले ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनेछ तर आवश्यकता परे पुनः ब्याटिङका लागि आउन सक्छ । यसैगरी प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ । एजेन्सी ।






