भक्तपुर । भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । पाँच स्वर्ण, तीन रजत र तीन कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बनेको हो । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा तीन स्वर्ण, सात रजत र तीन कांस्यसाथ नग्देश डोजो दोस्रो भयो । तेस्रो स्थानको बूढानीलकण्ठ डोजोले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य हात पार्यो ।
भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुरका अभिषेक तामाङ तथा महिलामा नग्देशकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुरुषमा विद्या आर्जनका रोजित कासुला तथा महिलामा माउण्ट भ्यालीकी सुजिता तामाङ उदीयमान खेलाडी चुनिनुभएको थियो । भौखेल डोजोले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, आयोजक डोजोका प्रमुख एवं अध्यक्ष सूर्यबहादुर तामाङलगायतले पुरस्कृत गर्नुभएको थियो ।






