कपिलवस्तु । नेपालमै पहिलोपटक ‘पाउण्ड क्रस विइथ रोप’ प्रतियोगिता हुने भएको छ । विजयादशमीको अवसर पारेर कपिलवस्तुको वाणगंगा नगरपालिकाको राजापानी सामुदायिक वन क्षेत्रभित्र रहेको पोखरीमा यो प्रतियोगिता हुन लागेको हो ।
लायन्स तथा लियो क्लब अफ कपिलवस्तुको आयोजनामा असोज २३ गते सो प्रतियोगिता हुने कार्यक्रम संयोजक राम शुभागे थारुले जानकारी दिनुभयो । यसअघि सोही संस्थाले राजापानीमा दशैँको अवसरमा लगातार दुई वर्ष ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गरेको थियो । १६ वर्षमाथि र १६ वर्षमुनिका गरी दुई समूहमा खेल खेलाइने चौधरीले जानकारी गराउनुभयो ।
यो पनि पोखरीमाथि खेलिने खेल हो । जहाँ खेलाडीले पोखरीमाथि १० फिटको उचाइमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर निर्धारित ५० मिटरको दूरी पार गर्नुपर्नेछ । यसरी सबैभन्दा छिटो दूरी पार गर्ने प्रतियोगिता पहिलो हुनेछ । खेलको संरचना निर्माण थालिसकिएको थारुले बताउनुभयो ।






