काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्टले बिवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जित्नुभएको छ । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो हुनुभएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६-० र ६-३ ले सहजै पराजित गर्नुभयो । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा विष्टलाई ६-१ र ६-१ को सोझो सेटमा हराउनुभयो ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार पहिलो हुनुभयो । उहाँले फाइनलमा सन्तोष खत्रीलाई सिधा सेटमा ६-२ र ६-१ ले पाखा लगाउनुभयो । हिमाल मिडियाद्वारा आयोजित प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष सिंगल्स स्पर्धामा दोहोरो स्वर्ण जित्नुभएका कमल थापा ५५ वर्षमाथि र ६५ वर्षमाथि च्याम्पियन बन्नुभयोे । चन्द्र शाहीले पनि पुरुष डबल्समा दुई स्वर्ण जित्नुभयो । उहाँले ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ तथा ५५ वर्षमाथि उत्तम शेर्पासँग मिलेर स्वर्ण हात पार्नुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी पहिलो हुनुभयो ।
त्यस्तै ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षित, ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो हुनुभयो ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, हिमाल मिडियाका संस्थापक कुन्दमणि दीक्षितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । समावेश सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार पाए । कुल पुरस्कार राशि पाँच लाख ७६ हजार रहेको थियो । शनिबार सम्पन्न हुनुपर्ने प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन लम्बिएको हो । प्रतियोगितामा १३९ खेलाडी सहभागी थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता