काठमाडौं । कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जित्नुभएको छ । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६-४ र ७-५ को सोझो सेटमा पराजित गर्नुभयो । अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई सीधा सेटमा ६-३ र ६-० ले हरउनुभयो ।
आइतबारै विभिन्न पाँच स्पर्धाका डबल्स र एक स्पर्धाको फाइनल पनि भए । पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई सीधा सेटमा ६-४ र ६-१ ले पाखा लगाए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६-४, ४-६ र १०-७ ले पन्छाए ।
४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६-३ र ७-५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्र शाहीले स्वर्ण जित्नुभयो । उहाँले उत्तम शेर्पासंग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६-२ र ६-४ ले फाइनलमा पाखा लगाए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४-६, ६-२ र १३-११ पन्छाए ।
पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धर फाइनलमा पुग्नुभयो । प्रदीपले प्रणव खनाललाई ६-१ र ६-३ तथा प्रणवले निसान श्रेष्ठलाई ६-२, ५-७ र ६-३ को सेटमा पराजित गर्नुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६-३ र ६-३ ले पन्छ्याउदै स्वर्ण हात पार्नुभयो ।
महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने हुनुभएको छ । सेमिफाइनलमा अभिलाषाले स्वस्तिका विष्टलाई ६-२ र ६-४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६-० र ६-१ को सोझो सेटमा हराउनुभयो । ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६-१ र ६-२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६-२ र ६-३ को सोझो सेटमा पराजित गर्नुभयो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता