✍️ प्रकाश स्पर्श
कुनै हिउँदे याम
तिम्रो आनकान
तैपनि, मेरै करले तिमी
विदेश त्यागेर जन्मभूमि आउँदाको मेरो उमङ्ग
मिलनको मिठास उस्तै
म त्यसै त्यसै दङ्ग
तिमी नेपाल एयरलायन्सको बोइङ ७४७ विमानबाट
टिङ्कर भन्ज्याङ अन्तर्राष्ट्रिय विमानस्थलमा
ओर्लंदाको उम्लँदो खुशी
त्यहाँबाट सुरु हुँदाको हाम्रो प्रेमलीला
आहा ! कति मीठो कल्पना !
सराङकोटको क्यावेलकार-हबहुँदै
नगरकोटको अर्को क्यावेलकार स्टेसनमा पुग्दाको आनन्दी
एउटा गोन्डोलामा तिमी र म
सगरमाथा नजिकको पयर्टकीय स्थल कालापत्थरतिर
तिम्रो र मेरो रोमाञ्चक यात्राको त्यो मजा
सम्हालिन सक्नुको उत्साह
तल अनि वरिपरि देखिएका प्रकृति
छताछुल्ल पोखिएका !
मानव वस्तीका विकसित
सुन्दर अनि दु्र्लभ दृश्यहरूले
उद्वेलित हुँदै गर्दा तिमी
मेरा आँखानजिकै तिम्रा आँखा ल्याई
मीठो मुस्कुराउँदै भन्छौ-
प्रिय !
मलाई यस्तै सुन्दर माया गर है !
कालापत्थरको आधुनिक सुपरस्टोरमा
तिमीले इच्छित
युरोपमा भन्दा ब्रान्डेड सामानहरू किनमेल गरेर
विश्वबाट आएका पयटर्कका हुलसँगै
घुमघामपछि
पर छेउमा रहेको कुनै एउटा रिसोर्टमा बसेर
सगरमाथाको विशाल छातीमा
सोक्तिम चिया सुरुपसुरुप पिउँदै
त्यो वरिपरिको चाँदीकुण्ड जस्तै कञ्चन मुस्कानले
मलाई जलप लगाउँदै गर्दा
तिमी भन्छौ-
प्रिय !
मलाई यस्तै अटल माया गर है !
अर्को दिनको मस्ती झन् कतिकति !
ओलाङचुंगोला अन्तरिक्ष केन्द्रबाट
कञ्चनजंगामा
अन्तरिक्ष यान प्रक्षेपण गरेको दृश्य हेरिसकेपछि
संसारकै लामो क्यावेलकार नेटवर्कमा सयर गरी
मध्यपश्चिम पुगेर
२३ हजार मेघावाटको
विश्वकै ठूलो कर्णाली जलविद्युत् आयोजनाको
जलाशयको छेउमा बसेर
खुट्टाले सङ्लो पानी चलाउँदै गर्दा
तिमी मेरो हात समाई भन्छौ-
प्रिय !
मलाई यस्तै कञ्चन माया गर है !
प्रणयको बन्धनमा मस्त
कमलको फूलको रसमा फसेका
कीराहरू जस्तो भइरहँदा
मेची-महाकालीको बुलेट ट्रेनको यात्रा चल्दै गर्दा
टेलिभिजनको स्क्रिनमा
विश्वमा सबैभन्दा विकसित, सुरक्षित, सुन्दर
र, उत्कृष्ट पूर्वाधारले भरिपूर्ण देश
नेपालको डकुमेन्ट्री बिबिसीमा प्रसारण भइरहँदा
अनि, सयौँ पयर्टकहरूले त्यसको मजा लिइरहँदा
तिमी छातीमा ढल्केर भन्छौ-
प्रिय !
मलाई नेपाल जस्तै माया गर है !
००
(रियल स्टेट एजेन्ट स्पर्श अमेरिकाको केन्टकीमा बसोबास गर्नुहुन्छ ।)






