मिहिनेत, धैर्यता र लगनशीलताले सफलता सम्भव हुन्छ । यसको पछिल्लो उदाहरण हुनुहुन्छ गायिका सारिका घिमिरे । अभिनयमा एक खालको सफलता प्राप्त गर्दै गर्दा उहाँले गायनतर्फ आफ्ना पाइला अघि बढाउनुभयो र यतिबेला चर्चा कमाउन सफल हुनुभएको छ । आधा दर्जनजति चलचित्र र तीन दर्जनजति म्युजिक भिडियोमा अभिनय गर्नुभएकी सारिकालाई चर्चा अभिनयले भन्दा गायन क्षेत्रले दिलाएको छ । मिठो स्वरकी धनी उहाँ गीत गाउनुका साथै गीत लेख्नुहुन्छ र संगीत पनि भर्नुहुन्छ । ‘जीवन काँडा कि फूल’, ‘आगो २’, ‘परिणाम’ लगायतका चलचित्रमा अभिनय गर्नुभएकी उहाँले पछिल्लो केही वर्षयता गायनमा आफूलाई सक्रिय बनाउनुभयो र स्थापित हुनुभयो । उहाँको स्वरमा रहेका गीत ‘ऐंसेलुको पात’, ‘रातो गलबन्दी’, ‘हेल्लो’, ‘घिन्ताङ घिन्ताङ’, ‘जोश छ जवानीको’, ‘मायालु’ जस्ता गीत अत्यधिक मन पराइएका छन् । उहाँले आधुनिक, लोक आधुनिक, लोकपप, चलचित्रलगायतका सबै विधाका गीतमा आफूलाई अब्बल साबित गर्नुभएको छ । उहाँले चलचित्र ‘चीँ मुसी चीँ’ को ‘हाँस्दा हाँस्दै’मा पहिलो पाश्र्व गायनमा स्वर दिनुभएको थियो भने चलचित्रको ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानीको’ दोस्रो रहेको थियो । उहाँलाई गायनमा स्थापित गर्ने पहिलो गीत ‘हेल्लो’ रहेको थियो । जसमा शब्द एकनारयण भण्डारी र संगीत आशिष अविरलको थियो भने उहाँलाई स्वरमा योगेशकाजी शाहले साथ दिनुभएको थियो । यस गीतपछि सारिकाका गीतहरूले लगातार चर्चा बटुल्न सफल भए । हुन त आफ्नो करिअरको सुरुवात नै गायनबाट भएको बताउनुहुने उहाँ केही समय अभिनयतिर लाग्नुभयो र पुनः गायनमा फर्किनुभयो । गीत संगीतलाई आफ्नो जीवनको अभिन्न अंगका रूपमा लिएको बताउनुहुने गायिका सारिका घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको सक्षिप्त अंशः-
के गर्दै हुनुहुन्छ यतिबेला ?
मैले पछिल्लो समय गीत संगीतमा नै आफूलाई व्यस्त बनाउँदै आएकी छु । केही सामाजिक कार्य र आफ्ना केही व्यक्तिगत कार्य । फेरि यतिबेला नेपालीहरूका महान् पर्व संघारमा छन् । यी पर्वलाई कसरी मनाउने भन्ने पारिवारिक र सामाजिक दायित्वबोध पनि छँदैछ ।
कसरी आकर्षित हुनुभयो यो क्षेत्रमा ?
म सानैदेखि चञ्चले स्वभावकी थिएँ । नाच्न, गाउन र अभिनय गर्न भनेपछि हुरुक्क हुन्थेँ । मेरो रुचिलाई घरपरिवारले पनि साथ दियो । सुरुमा मेरो इच्छा, चाहना एवं रहर भनौँ चलचित्रमा अभिनेत्री बन्ने थियो । त्यसैले करिअरको सुरुवाती दिनहरूमा नायिका बन्ने दौडमा लागेँ । हुन त मेरो कला क्षेत्रको सुरुवात गायनबाट नै भएको थियो ।
यहाँले थुप्रै चलचित्रमा अभिनय गर्नुभयो, यहाँको अभिनयले तारिफ बटुल्न पनि सफल भयो, कसरी हेर्नुहुन्छ ती दिनलाई ?
यहाँले भने जस्तै मैले केही चलचित्रमा अभिनय गरेँ । मैले साहित्यकार झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रमा काम गर्ने मौका पनि पाएँ । मैले झमककी बहिनीको भूमिका निर्वाह गरेकी थिएँ । मेरो अभिनयको राम्रै चर्चा पनि भयो । ‘आगो २’, ‘परिणाम’ लगायतका चलचित्रमा अभिनय गरेँ ।
सुरुवातका दिनमा गायन क्षेत्रमा थिएँ । गायनसँगसँगै अभिनय भनेपछि हुरुक्कै हुन्थेँ । मेरो अन्तस्कुनामा जबर्जस्त गायन बसेको थियो । पछि अभिनय गर्दै जाँदा गायन क्षेत्रलाई अघि बढाउनुपर्छ भन्ने लाग्यो । फेरि घरपरिवार र साथीभाइको सल्लाह पनि यति मिठो स्वर छ किन गायनमा जानुहुन्न भन्ने थियो । मेरो आफ्नो अन्तस्मन र घरपरिवार एवं साथीहरूको सल्लाहबमोजिम नै म गायन क्षेत्रमा होमिएँ र यतिबेला रामै्र भइरहेको छ ।
यहाँलाई धेरै म्युजिक भिडियोमा पनि देखिन्छ नि ?
हो, यहाँले भने जस्तै मैले चलचित्रसँगै केही म्युजिक भिडियोमा पनि अभिनय गरेँ तर पछिल्लो समय मैले मेरा गीतमा बाहेक अन्यमा अभिनय गरेको छैन । मैले तीन दर्जनजति गीतका भिडियोमा अभिनय गरेँ हुँला ।
गायनतर्फ कसरी मोडिनुभयो त ?
मैले माथि पनि भनेँ म सुरुवातका दिनमा गायन क्षेत्रमा थिएँ । गायनसँगसँगै अभिनय भनेपछि हुरुक्कै हुन्थेँ । मेरो अन्तस्कुनामा जबर्जस्त गायन बसेको थियो । पछि अभिनय गर्दै जाँदा गायन क्षेत्रलाई अघि बढाउनुपर्छ भन्ने लाग्यो । फेरि घरपरिवार र साथीभाइको सल्लाह पनि यति मिठो स्वर छ किन गायनमा जानुहुन्न भन्ने थियो । मेरो आफ्नो अन्तस्मन र घरपरिवार एवं साथीहरूको सल्लाहबमोजिम नै म गायन क्षेत्रमा होमिएँ ।
अहिले आएर हेर्दा ठीकै गरिछु जस्तो लाग्छ कि गल्ती गरेँ भन्ने लाग्छ ?
होइन, एकदम ठीक निर्णय गरेँ जस्तो लाग्छ । किनकि अभिनयभन्दा गायनले नै बढी चर्चा पाएको छ । म गीत गाउनकै लागि जन्मिएकी हुँ भन्ने लागेको छ ।
यहाँले आफैं गीत लेख्नुहुन्छ र संगीत पनि भर्ने गरेको पाइन्छ नि ?
हो, यहाँले भने जस्तै मैले केही गीत आफैं लेखेकी पनि छु र संगीत पनि गरेकी छु । मैले एक दर्जनभन्दा बढी गीत लेखेकी छु र केही गीतमा संगीत भरेकी छु । मेरो शब्द, संगीत र स्वर रहेको अत्यधिक रुचाइएको गीत यतिबेला ‘मायालु’ रहेको छ । जसलाई टिकटकमा अत्यधिक रुचाइएको छ ।
गीत संगीत भनेको के रहेछ ?
यो यति धेरै बृहत् विषयलाई एक लाइनमा कसरी व्यक्त गरौँ । निरन्तर साधना हो संगीत । जीवन हो गीत संगीत । संगीतबिना जीवन अधुरो हुन्छ जस्तो लाग्छ । संगीतलाई बुझेर बुझ्न कहिल्यै सकिँदैन । मैले संगीतलाई जीवनका रूपमा लिएकी छु ।
यहाँको स्वरमा रहेका केही गीतको नाम लिनुपर्दा ?
‘ऐंसेलुको पात’, ‘रातो गलबन्दी’, ‘हेल्लो’, ‘मेरो मायाले छुन्छ छुँदैन’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘मायाको सुगन्ध’ (सोचे झैँ जीवन हुने भए), ‘घिन्ताङ घिन्ताङ मादलु’, ‘जोश छ जवानीको’ ‘कलियुगकी राधा’, दिल टुट्यो, एउटा फूल, हजारै जुनी, मायालु (उसले त बिस्र्यो अरे), ‘जुन दिन तिमीले’, ‘बाटो हुँदै खुर्कोट, ‘मेरो मनको फूलबारी’, ‘जून तारा’, ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’, ‘झम झम पानीले सारी भिजायो’ लगायत दुई दर्जनभन्दा बढी छन् ।
यहाँको स्वरमा रहेका प्रायः सबै गीतले श्रोता/दर्शकको मन जित्न सफल भएका छन्, केही करोडौं क्लबमा पनि पर्न सफल भएका छन् नि ?
हो, यहाँले भने जस्तै मेरा गीतलाई श्रोता/दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् । ‘ऐंसलुको पात’, ‘हेल्लो’ जस्ता गीत करोडौं क्लबमा छन् भने पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत ‘मायालु’ (उसले त बिस्र्यो अरे मुटु साटेको) रहेको छ । यो गीत खासगरी टिकटकमा ‘भाइरल’ नै छ । अत्यधिक मन पराइदिनुभएको छ एकदमै आभारी छु ।
नयाँ केही आउँदै छन् कि ?
छन् नि । आधा दर्जनजति गीत सेडुअलमा छन् । ‘करुवाको पानी’, ‘नैना रेशम’, ‘देउरालीको डाँडा’ लगायतका छन् ।
गायन क्षेत्रमा रहेर छोटो समयमा नै यहाँले मानसम्मान, पुरस्कार र अवार्ड पाउन सफल हुनुभएको पाइन्छ नि ?
यहाँले भने जस्तै यो क्षेत्रमा मेरा कर्मको कदर गर्दै मानसम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । खुसी लाग्छ । काम गर्दै जाँदा प्राप्त हुँदोरहेछ । फेरि मैले कहिल्यै अवार्डका लागि भनेर गीत गाइनँ । गर्दै जाँदा यो सबै प्राप्त भइरहेको छ ।
अन्त्यमा,
मेरा कर्मलाई माया गरिदिनुहुने सम्पूर्ण श्रोता/दर्शकप्रति एकदमै आभारी छु । यहाँसँगको यो बसाइ र संवादका लागि धेरै धेरै धन्यवाद । नेपाली गीत संगीतलाई साथ, सहयोग र माया गरौँ । नेपालीहरूको महान् पर्व बडादशैँ तथा आउँदै गरेका हाम्रा अन्य पर्वको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा