डेंगु हाल देशव्यापी रूपमा फैलिइरहेको छ । यसको संक्रमण विस्तार भइसकेको छ । तथ्यांक अनुसार नेपालका ७७ जिल्लामध्ये हुम्लाबाहेक अन्य ७६ जिल्लामा डेंगुबाट संक्रमित बिरामीहरू पाइएका छन् । यस अवस्थाले यसको भयावह अवस्थाको चित्रण गर्छ । डेंगुको संक्रमण गर्मी महिनामा बढी हुनेगर्छ । चिसो सुरु हुँदै गएपछि यो बिस्तारै कम हुँदै जाने भएकाले अब यसको संत्रास कम हुँदै जानेमा विश्वस्त हुनुपर्ने अवस्थामा अहिले आएर एकाएक संक्रमण विस्तार भइरहेको छ । हाल एकाएक तापक्रम वृद्धि हुनु र तराईका जिल्लाहरूमा तापक्रममा अत्यधिक वृद्धि भएर त्यहाँको जनजीवन गर्मीबाट प्रभावित बन्न पुग्नु हो ।
जति गर्मी भयो सोही अनुपातमा डेंगु संक्रमण विस्तार गर्ने लामखुट्टेलाई यसको संक्रमण विस्तारका लागि वातावरण सहज बन्दै जान्छ । भदौको उत्तराद्र्धमा पानी कम परेको हुँदा यसका लार्भाहरू हुर्किने सहज मौका पाएर अहिले एकाएक यसको संक्रमण वृद्धि भएको हो । यसबाट हुम्ला एउटा जिल्ला अछुतो रहन पाएको छ तर संक्रमित मानिससँगसँगै त्यहाँ पनि यसको संक्रमण नपुग्ला भन्ने छैन । यस पटकको मनसुन अझैसम्म पनि सक्रिय छ । मनसुन निख्रिहाल्ने सम्भावना देखिएको छैन । मौसमविद्हरूले त यस पटकको दशैँसम्म पनि मनसुन ननिख्रिन सक्छ भनेका छन् । पानी पर्ने वा बर्खाको समय रहिरहुन्जेल डेंगु पनि रहिरहन सक्छ ।
चिकित्सकहरूले पनि यसै भनेका छन् । अबको चार हप्तासम्मको समय डेंगुको जोखिन रहन सक्ने उनीहरूको भनाइका आधारमा भन्ने हो भने कात्तिक महिनाको आधाअधीसम्म हाम्रो सावधानी रहनुपर्ने हुन आउँछ । हालका दिनहरूमा डेंगुका बिरामीहरूले अस्पतालहरू खचाखच भरिन थालेका छन् । अस्पतालहरूमा बिरामीका लागि शैøया उपलब्ध हुन छाडेका छन् । सामुमा नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँ आइरहेको छ । दशैँमा मानिसहरूको आवागमन अझै बढेर जान्छ । जति मानिसहरूको चहलपहल बढ्छ त्यसैगरी संक्रमितहरू पनि चौतर्फी छरिनाले डेंगुको विस्तारका लागि त्यो अवस्था सहज बन्नपुग्छ । मानिसको जनघनत्व बढी भएका ठाउँमा फोहोर मैलाको उत्सर्जन पनि बढी हुने गर्छ ।
जति वातावरण प्रदूषित बन्छ लामखुट्टेहरूको संख्यावृद्धिमा यसले सघाउ पुर्याउँछ । त्यस अर्थमा काठमाडौं उपत्यकाका मानिसहरू बढी संक्रमित बन्न सक्छन् । ती आ–आफ्ना गृहजिल्ला फर्किने क्रममा आफू सँगसँगै डेंगुको संक्रमण लिएर गाउँगाउँ पुग्न सक्छन् । जसले गर्दा आगामी दशैँमा डेंगु गाउँगाउँसम्म फैलिन सक्छ । यो चेतावनी चिकित्सकहरूले समेत दिइसकेका छन् । यस्तो जोखिमपूर्ण अवस्थामा हामी जोकोहीले पनि लापरबाही गर्नुहुँदैन । डेंगु पनि अन्य केही संक्रमणहरू जत्तिकै खतरनाक हो भनिएको छ । कोरोनाबाट संक्रमित भएर निको भएका र पछि डेंगुबाट पनि प्रभावित भएकाहरूले यी दुईलाई तुलना गरेर हेर्ने क्रममा डेंगु कोरानाभन्दा अझै बढी पीडादायी हुँदोरहेछ भन्ने गरेका छन् ।
कोरोनाबाट जति मानिसको ज्यान गयो डेंगुबाट त्यति धेरै मानिसहरूको ज्यान गएको त नहोला तर संक्रमणका बेलाको पीडा डेंगुमा अझै बढी हुने पीडितहरूको अनुभवले यो पनि खतरनाक हुन्छ भन्ने पुष्टि हुन आउँछ । त्यसकारण यसलाई सामान्य मानेर लापरबाही गर्नु हुँदैन । गण्डकी प्रदेश अहिले डेंगुबाट प्रभावित प्रदेशहरूमा सबैभन्दा अगाडि छ तर यो तथ्यांक भोलिका दिनमा फेरबदल पनि नहोला भन्न सकिँदैन । साम्ने अगाडिको दशैँमा काठमाडौं उपत्यकामा बसिरहेका तीनचौथाइ मानिसहरू बाहिरिने सम्भावना छ । विगतको अनुभवका आधारमा यसो भन्न सकिन्छ । त्यति धेरै संख्यामा यहाँबाट बाहिर जाने मानिसहरू देशका प्रायः सबैजसो जिल्लाहरूका गाउँगाउँसम्म फैलिन्छन् । हाल रुघा, ज्वरोजस्ता मौसम परिवर्तन हुने बेलाका लक्षण धेरै मानिसहरूमा देखिँदै आएका छन् ।
डेंगुमा पनि सुरुमा त्यस्तै लक्षण देखिने गर्छन् र बिस्तारै घात्तै लाने गर्छ । प्रारम्भिक चरणमा देखिने यस्ता लक्षणलाई भाइरल ठानेर लापरबाही गरी बेवास्ता गरेर गाउँ जाने मानिसहरूका कारण डेंगुको प्रभाव नभएका शान्त र सुरम्य वातावरण भएका जिल्ला र गाउँसम्म पनि ती मानिसको माध्यमबाट डेंगु नपुग्ला भन्ने छैन । मौसमी प्रभाव, मानिसहरूको जमघटजस्ता विषयलाई मध्यनजर राखेर सतर्कता अपनाउनु जरुरी छ । हुम्लाबाहेकका अरू सबै ७६ जिल्लामा फैलिन सक्ने यो संक्रमण पहाडी र हिमाली जिल्लाका गाउँबस्तीसम्म पनि पुग्नसक्ने रहेछ भन्ने देखिएको छ । बढीजसो तराईकै जिल्ला सावधान हुनुपर्छ । त्यो प्रामाणिक तथ्य हो । तथापि सबै जिल्लाका मानिसमा यसको संक्रमण फैलिन सक्छ भन्ने सोच राखेर दशैँको समयमा सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।
नत्र ज्वालामुखीमाथिको विश्राम जस्तो बन्न सक्छ किनभने यस संक्रमणबाट ज्यान जानसक्छ भन्ने देखिएकै छ । यही सिजनमा पनि केही मानिसहरूको मृत्यु डेंगुबाट भइसकेको छ । यसले गर्दा यो संक्रमण निकै नै खतरनाक छ भन्ने थाहा हुन्छ । कोरोनाको विश्वव्यापी संक्रमणबाट भरखरैमात्र मुक्ति पाउँदै गरेका मानिसहरूले यसलाई कोरोना जति डरलाग्दो नठानेका हुन सक्छन् तर दुबै संक्रमण भोगेका मानिसहरूको भोगाइका आधारमा भन्दा अझै बढी पीडादायी हुन्छ भन्नेछ । मानिसको ज्यान लिन सक्ने यस्तो संक्रमणलाई हेलचेक्र्याइँ र बेवास्ता गर्नु हुँदैन । चाडपर्वका बेलामा हुने आवागमन, भिडभाड र खानपानमा सतर्कता अपनाउनु बुद्धिमानी तथा हितकारी हुनसक्छ । यसतर्फ सबैको ध्यान पुग्नु जरुरी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता