काठमाडौं । यही असोज १७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याइएको निर्माणपक्षले जनाएको हो । ‘तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ’, नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भन्नुभयो ।
आफू बेहुली हुँदाको अनुभव तीन सय शब्दमा लेखेर निर्माणपक्षलाई पठाउनुपर्नेछ । कथा/अनुभव असोज १० गतेदेखि पठाउन सकिने बताइएको छ ।
चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमासँगै बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाउनुभएको छ । चलचित्रको कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे हुनुहुन्छ ।






