काठमाडौं । हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ पछिल्लो समय दर्शकसँगै चलचित्र प्रमोशनको माध्यम बनिरहेको छ । गएको भदौ १४ गते प्रसारण सुरु भएको कमेडी दरबारको चार एपिसोड प्रसारण भइसकेको छ । चारवटै एपिसोडलाई दर्शकले रुचाएका छन् । पहिलो एपिसोडलाई अहिलेसम्म युट्युवमा मात्रै १२ लाखभन्दा बढी पटक हेरिएको छ । जसमा अतिथि कलाकारको रूपमा अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा उपस्थित हुनुहुन्थ्यो । पहिलो एपिसोड नै नेपालको युट्युबको ट्रेन्डिङमा पुगेको थियो ।
यस्तै दोस्रो एपिसोडमा नेपाली खेलाडीहरू किरण चेम्जोङ, ललित राजवंशी र सरस्वती चौधरी उपस्थित हुनुहुन्थ्यो । जुन एपिसोडलाई पनि युट्युबमा अहिलेसम्म झण्डै नौ लाख पटक हेरिएको छ । त्यस्तै तेस्रो एपिसोडमा चलचित्रमा ‘खुस्मा’का अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी उपस्थित हुनुहुन्थ्यो । यो एपिसोडलाई पनि आठ लाखभन्दा बढी पटक हेरिएको छ ।
यसैगरी गएको शुक्रबार प्रसारणमा आएको चौथो एपिसोडमा चलचित्र ‘बेहुली फ्रम मेघौली’को तर्फबाट निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का उपस्थित हुनुहुन्थ्यो । यस एसिसोडलाई पनि दुई दिनमै पाँच लाखभन्दा बढीपटक हेरिएको छ । यसरी अहिलेसम्म प्रसारण भएका एपिसोडहरू हेर्दा दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । तीनवटा एपिसोड लगातार केही दिनसम्म युट्युवको ट्रेन्डिङमा रहेका थिए ।
कमेडी दरबारमा अभिनेत्री गौरी मल्ललाई महारानी र अभिनेता बिजय बराललाई महाराजको रूपमा प्रस्तुत गरिएको छ । यस्तै सिडी बिजय अधिकारी, नम्रता सापकोटा, पवित्रा साकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त र बिकाश अर्याल कमेडीयनको रूपमा आबद्ध हुनुहुन्छ । शोलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होष्ट गरिरहनुभएको छ ।
शोलाई बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले निर्देशन गरिरहनुभएको छ । शोको राइटरको रूपमा विकाश अर्याल, सुन्दर खनाल र बिक्की अग्रवाल हुनुहुन्छ । यस्तै, प्रोडक्सनमा आयुष लुइँटेल हुनुहुन्छ । शोको मिडिया संयाजन र गेष्ट म्यानेजमेन्ट गोपिकृष्ण चापागाईंले गरिरहनुभएको । शो प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमार्फत प्रसारण भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts