काठमाडौं । नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।
आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रस्तुत गर्ने भएको हो ।
अखिल नेपाल कबड्डी संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै वल्र्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झालगायतले बिदाइ गर्नुभएको थियो ।
सो अवसरमा सदस्य-सचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताउनुभयो । साथै उहाँले अलि लामो तयारी, मिहिनेत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औँल्याउनुभयो ।
यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन् ।
भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो । तर, अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिबन्ध लगाएपछि इरानमा भारतको चुनौती नहुने भएको हो । यसै प्रतियोगिताका लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो ।
च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रञ्जित गजमेर, पदमबहादुर विष्ट, गणेश कार्की, रामु टमटा र निरज चन्द छन् ।
टिम व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा