फिदिम । फाल्गुनन्द गोल्डकपको ११औँ संस्करण पुसमा हुने भएको छ । मैदान भत्किएपछि २०७५ सालदेखि स्थगित गरिएको उक्त गोल्डकप फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्न लागेको हो । पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने आयोजक क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।
फिदिम स्पोर्टिङ क्लबले २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा शुभजन्मोत्सव कपका नामले खेलाउन थालेको गोल्डकपलाई २०६५ देखि फाल्गुनन्द गोल्डकप नामाकरण गरेर सञ्चालन गर्न थालेको हो ।
नेपालका १६औँ राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको स्मृतिमा खेलाइँदै आएको उक्त गोल्डकप २०७५ सालमा १०औँ संस्करण सकिएलगत्तै फिदिम माविको खेल मैदान भत्किएपछि स्थगित भएको थियो ।
पछिल्लो समय खेल मैदान मर्मत गरेसँगै खेललाई निरन्तरता दिन लागिएको आयोजक क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
११ औँ संस्करणको विजेताले नगद तीन लाख ५५ हजार र उपविजेताले दुई लाख २५ हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् । यो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका चार क्लब, ‘बी’ डिभिजनका बागमती युथ क्लब र आरसी ३२ र मोफसलका झापा, मोरङ, सुनसरीलगायतका १० क्लब सहभागी गराउने तयारी रहेको अध्यक्ष मगरले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता