काठमाडौं । आजदेखि ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन टु’ सञ्चालन हुने भएको छ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुने भएको हो । एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युपमेन्ट पार्टनरमा स्ट्याग ग्लोबल प्रालि, इण्डिया रहेको छ । जसले प्रतियोगितालाई आवश्यकता पर्ने टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट आदि सम्पूर्ण सामग्रीहरू प्रदान गर्नेछ ।
सह–प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी र मेटल सेपर रहेका छन् जसले प्रतियोगिताको कुल अनुमानित बजेटको २० प्रतिशत रकम (तीन लाख एकान्नब्बे हजार रुपैयाँ) प्रदान गर्नेछन् ।
साथै मेटल सेपरले प्रतियोगिताको रनिङ ट्रफीसमेत प्रदान गर्नेछ । हस्पिटालिटी पार्टनरमा नेपाली घर होटल, ठमेल रहेको छ जसले प्रतियोगितामा सहभागी सम्पूर्ण विदेशी खेलाडीहरूको खानपिन र बसोबासको व्यवस्थापन गर्नेछ । ब्रोडकास्टिङ पार्टनरका रूपमा एक्सन स्पोटर््स एचडी र स्ट्रिम लिग छ भने इन्टरनेट पार्टनरका रूपमा डिसहोम इन्टरनेट छ ।
छ दिनसम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा दुई विभागीय टोली (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)सहित ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी गरी जम्मा सात टिमले सहभागिता जनाउने बताइएको छ । लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित नेपाल प्रहरी र यल टेबलटेनिसले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५५ हजार रुपैँया रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् र तृतीय हुने (दुवै सेमी-फाइनलिस्ट) टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।






