काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको नियमित चौथो बैठकले सर्वसम्मतरूपमा निर्णय गरी विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । बिओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकले अनेसास केन्द्रीय कार्यसमितिमा निर्वाचनद्वारा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट प्रतिनिधित्व हुने गरी पाँचजना उपाध्यक्षहरू, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी चयन गरिने प्रावधान छ भने कार्यसमितिको बैठकबाट पारित गरी एकजना महिला र एकजना पुरुषलाई अध्यक्षबाट मनोनयन गर्ने प्रावधान छ ।
यसै प्रावधानअनुरूप अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनीत हुनुभएको छ ।
चौथो बैठकपश्चात् दुई केन्द्रीय सदस्य मनोनयन भएपश्चात् अनेसास केन्द्रीय कार्यसमितिले पूर्णता प्राप्त गरेको अनेसासका केन्द्र्रीय महासचिव राजु सिटौलाले जानकारी गराउनुभयो ।
अनेसास विधानअनुरूप बैठकले सिफारिस गरेका व्यक्तिहरूलाई अनलाइन साहित्यिक पत्रिकाको प्रधान-सम्पादक तथा कार्यकारी सम्पादक र मुखपत्र अन्तर्दृष्टिको प्रधान-सम्पादकलाई अध्यक्षद्वारा मनोनयन गरिन्छ ।
यसै प्रावधानबमोजिम युरोपबाट निर्वाचित उपाध्यक्ष डिल्लीराम अम्माईलाई अनलाइनको प्रधान-सम्पादकको जिम्मेवारी प्रदान गरिएको छ भने कार्यकारी सम्पादकको जिम्मा पुनः नेपालबाट रमेश दाहाललाई प्रदान गरिएको छ ।
त्यस्तै अन्तर्दृष्टिको प्रधान सम्पादकमा जापानका दिनेशराज ज्ञवालीलाई मनोनयन गरिएको छ ।






