युएई । अर्को महिनामा संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुने महिला टी-२० विश्वकपको विजेताले पाउने पुरस्कार राशिमा वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)का अनुसार यसपटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा यो १३४ प्रतिशतले बढी हो । अस्ट्रेलियाले विश्वकप जित्दा १० लाख अमेरिकी डलर पाएको थियो । आइसिसीले यस संस्करणको विश्वकपमा कुल पुस्कार राशिमा २२५ प्रतिशत वृद्धि गराएको छ । आइसिसीले महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको हो ।
आइसिसीले २०२४ को पुरुष टी-२० विश्वकपको विजेता भारतलाई २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरिएको थियो । महिला विश्वकपमा सहभागी रहने टोलीअनुसार पुरुषको तुलनामा यो पुरस्कार राशि धेरै नै बढी हो । पुरुष टी-२० विश्वकपमा २० राष्ट्र सहभागी हुँदा महिला टी-२० विश्वकपमा १० राष्ट्रको मात्र सहभागिता रहनेछ ।
२०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ । यो गत संस्करणको तुलनामा १३४ प्रतिशतमा नै वृद्धि भएको छ । गत वर्ष उपविजेता दक्षिण अफ्रिकाले पाँच लाख अमेरिकी डलर पाएको थियो ।
२०२४ मा सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । जुन अघिल्लो संस्करणमा दुई लाख १० हजार अमेरिकी डलर थियो । सन् २०२४ मा सहभागी हुने सबै १० टिमले एक लाख १२ हजार पाँच सय अमेरिकी डलर पाउनेछन् । नवौँ संस्करणको महिला टी-२० विश्वकप ३ अक्टोबरबाट युएईमा सुरुवात हुँदैछ । बंगलादेशमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता युएई सारिएको थियो ।
जसमा समूह चरणका लागि दुबई र शारजाहका खेलहरू समानरूपमा विभाजित भएका थिए । अस्ट्रेलियाले समूह चरणका चारमध्ये तीन खेल शारजाहमा खेल्नेछ भने भारतले तीन खेल दुबईमा खेल्नेछ ।
साबिक विजेता अस्ट्रेलियाले अक्टोबर ५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतले आफ्नो पहिलो खेल दुबईमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ । भारतले ६ अक्टोबरमा दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा पाकिस्तानको सामना गर्नेछ ।
पहिलो सेमिफाइनल १७ अक्टोबरमा दुबईमा आयोजना हुनेछ । १८ अक्टोबरमा शारजाहमा दोस्रो सेमिफाइनल आयोजना हुनेछ । प्रतियोगिताको फाइनल २० अक्टोबर दुबईमा हुनेछ । सेमिफाइनल र फाइनल दुवैलाई रिजर्भ डे रहेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । एजेन्सी ।






