✍️ विमला पोख्रेल
मुक्तककार लक्ष्मी रायमाझीज्यूको ‘शब्द ब्रहृम’ मुक्तकसंग्रह कृति उहाँकै हातबाट मैले विराटनगरको एउटा कार्यक्रममा जाँदा पाएकी थिएँ । यो कृति पढिसकेपछि मलाई यस कृतिका बारेमा केही नलेख्दा कृतिमाथि अन्याय भएको महसुुस भएर केही लेख्ने जमर्को गरेँ । यस कृतिमा समीक्षकज्यूहरू आदरणीय बाबुराम पोख्रेलज्यू तथा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखा विराटनगरका सचिव मदन भण्डारीज्यूले कृतिमाथि समीक्षा गर्नुभएको मैले पाएँ । उहाँहरूको उत्कृष्ट समीक्षाले मेरो मन प्रफुल्लित भएको छ । यो ‘शब्द ब्रहृम’ मुक्तकसंग्रह कृतिलाई अध्ययन गर्दा मलाई हाम्रो पवित्र धार्मिक ग्रन्थ वेदबाट निसृत गरिएको ‘शब्द ब्रहृम’ शब्द हो भन्ने मेरो मनमा लागेको छ । ‘शब्द ब्रहृम’ शब्दको सामान्य तवरले अर्थ गर्नुपर्दा मेरो दृष्टिमा अक्षरहरूको सिंगो समूहले शब्द बनिन्छ ।
यस कृतिका आधारमा ‘ब्रहृम’ को वास्तविक अर्थ सम्पूर्ण अक्षर शब्द तथा वाक्यहरूको यथार्थ आत्मा हो । जसले ज्ञान, चेतना, विवेकको बोध गराउँछ । आध्यात्मिक दृष्टिले भन्नुपर्दा ‘ब्रहृम’ भनेको अदृश्य ईश्वरीय रूप तथा गुण हो भन्ने मलाई लाग्छ । जुन मेरो धारणा हाम्रो पवित्र धार्मिक ग्रन्थ यजुर्वेद संहिताको चालीसौँ अध्यायको सत्र र अठार ऋचाले प्रष्ट पार्दछन् । जुन ऋचा यस प्रकारका छन् :
हिरण्ययेन पात्रेण सत्यस्थापिहसतं मुखम् ।
यो सावादित्ये पुरूष.सोसावहम् ।।१७।।
वास्तवमा यसको अर्थ सुनको चम्किलो पात्रजस्तै भएर सत्यको मुखरूपी स्वरूप सधैँ छोपिएको हुन्छ । त्यस आवरणलाई हटाएपछि त्यो आदित्यका रूपमा रहेको पुरुष मै हुँ भनेर थाहा पाइन्छ । त्यसै गरी ॐखं ब्रहृम अर्थात् यसको अर्थ ॐ अक्षर आकाशभरि ब्रहृमका रूपमा सर्वत्र व्याप्त भएर रहेको छ । यसबाट ‘ब्रहृम’ शब्दले त्यो चेतनशील अलौकिक मार्मिक ईश्वरीय गुण तत्व सर्वत्र व्यापक बनेर रहेको छ । यसको अन्त्य कहिल्यै पनि हुँदैन, नासवान छैन भन्ने बोध हुन्छ । त्यसै गरी ‘शब्द ब्रहृम’ शीर्षक बौद्धिक तवरले पनि सिंगारिएको छ । जीवन र जगतलाई परिचित गराउने विधा नै साहित्य हो ।
यो मुक्तकसंग्रह कृतिलाई समग्र रूपमा भन्नुपर्दा आन्तरिक चेतना वा अनुभूति, समसामयिकताका सतहमा पोखिएर रहेको पाइन्छ । यसमा देशको कारुणिक जर्जर अवस्था, अराजकता, हिंसा, सत्ता मोहमा केन्द्रित विखण्डनवादीहरू देखेर मुक्तककारको हृदय द्रवीभूत भएको यथार्थतालाई यो कृतिमा अनुभूत गर्न सकिन्छ ।
मुक्तक भनेको संस्कृत साहित्यबाट सृजित हृदयाभावलाई प्रतिबिम्बित गर्ने पद्यात्मक विधा हो । मुक्तक चतुस्पदीय चोटिलो रचना हो । जसले मानव हृदय तथा मस्तिष्कलाई सुमार्गमा अघि बढ्न प्रेरणा दिन्छ । यसले ईश्वरीय सत् चित् आनन्दको अर्थसँग तादात्मा राखेको छ भन्ने मलाई अनुभूत भएको छ । मुक्तकको विभिन्न ठाउँमा फरक-फरक तौरतरिकाबाट संरचना हुने गरेको भए पनि अनुप्रासयुक्त चतुस्पदीय हरफलाई मुक्तक मानिन्छ । मुक्तककार रायमाझीज्यूले यो कृतिमा प्रत्येक मानव जीवनको अन्तर हृदयमा अदृश्य तवरले बास गर्ने सच्चा प्रेमलाई ‘ब्रहृम’को संज्ञा दिनुभएको मलाई अनुभूत हुन्छ । जुन मुक्तको सर्ग दुईलाई हेरौं :-
शब्द–शब्द लेखिएर अटल अविनाशी ब्रहृम हुन्छ
शब्द कानमा ठोकिन्छ ध्वनि बन्छ जगतले सुन्छ
क्रमबद्ध अव्यक्त भावहरू स्खलित हुन्छ मनभरि
शान्तमय मनमा समाधिस्थ एकाग्रताको जून छ ।
त्यसै क्रमले सर्ग चरलाई हेरौँ :-
‘ब्रहृमाण्डको चैतन्य हो, मनुष्य चोला
बनाउन सके धन्य हो, मनुष्य चोला
दुरुपयोगमा सर्वोत्कृष्ट हुँदैन बुझ्नु
मात्र पशुभन्दा अन्य हो, मनुष्य चोला ।
समाजका व्याप्त विकृति र विसंगति नै मुक्तककारका सिर्जनाका कारण देखिन्छन् । साहित्यप्रति प्रगाढ अनुराग राख्नु नै उहाँको स्वभाव हो । भावलाई सुसजित साथ समाहित गर्नु नै उहाँको विशेषता हो । साहित्य र संस्कृतिको विकासबाटै सुसंस्कृत तथा सभ्य समाजको निर्माण हुन्छ । सभ्यताले सुन्दर गति लिन्छ भन्ने भावना र विचारबाटै अभिप्रेरित रहेर साहित्यिक मुक्तक मार्ग प्रशस्त पार्नु नै उहाँको ध्येय हो । उहाँको मुक्तकको सर्ग ३१ ले यसरी प्रष्ट पार्दछ ।
‘मान्छे मान्छेमा हराएको हार्दिकता र सद्भाव खोज्दैछु
जीवन र जगतको प्रणय कसरी कस्ने कसैसँग सोध्दैछु
बाँधिनुको साटो, फुस्किन्छ किन आत्मीयताको गाँठो
प्रकृतिको शाश्वत नियम कस्तो होला मनमनै सोच्दैछु ।’
त्यसैक्रमले सर्ग १०९ लाई हेरौं :
‘न दिव्यता देखिन्छ आवरण भित्र
न कोरिन्छ बाहिर आचरण सचित्र
पहिल्याउन आचरण आवरणभित्रको
बरू दिव्यज्ञान चाहिन्छ एक पवित्र ।’
यो ‘शब्द ब्रहृम’ मुक्तकसंग्रहभित्र चतुस्पदीय श्लोक भएका जम्मा २५२ वटा सर्ग रहेछन् । त्यसमा यो मुक्तकसंग्रह कृतिलाई समग्र रूपमा भन्नुपर्दा आन्तरिक चेतना वा अनुभूति, समसामयिकताका सतहमा पोखिएर रहेको पाइन्छ । यसमा देशको कारुणिक जर्जर अवस्था, अराजकता, हिंसा, सत्ता मोहमा केन्द्रित विखण्डनवादीहरू देखेर मुक्तककारको हृदय द्रवीभूत भएको यथार्थतालाई यो कृतिमा अनुभूत गर्न सकिन्छ ।
यस कृतिमा मर्मस्पर्शी भावहरू सर्ग १०२ मा पनि झल्किन्छ । जुन यस प्रकार रहेको छ :
‘मुस्कुराउन सिकौँ आफ्नो प्रिय स्निग्ध धरामा
सद्भाव फुलाऔँ समताको स्वतन्त्र गरामा
छलछाम जति हटाएर, सबैमा स्नेह बढाएर
संस्कार बचाऔँ छलकपटरहित परम्परामा ।’
त्यसैगरी सर्ग १३० मा रहेको मार्मिक भाव :
‘सक्छौ आफ्नै धरातलमा उभिएर हेर
झुक्न सके आवरणभन्दा निहुरेर हेर
मोतीको सम्भावना छ त्यो गहिराइमा
टिप्नु छ भने धैर्यताको समुद्रमा डुबेर हेर ।’
त्यसैगरी १३५ को मार्मिक सर्ग यस प्रकार रहेको छ ।
आश लाग्दा रहरहरूमा कहर मिसिए पछि
बाध्यताको जातोमा उमंग पिसिएपछि
कुन भरोसाको आडमा म उभिउँ भनिदेऊ
स्वार्थमा जकडिएर न्यानो विश्वास चिसिएपछि ।’
मुक्तककार लक्ष्मी रायमाझीको यो ‘शब्द ब्रहृम’ मुक्तकसंग्रह कृति सुन्दर र उत्कृष्ट छ । यस कृतिले पाठकहरूको मनलाई प्रफुल्ल बनाई उचाइ हासिल गर्न सकोस् भन्ने शुभकामना ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा