काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभइन रिलेसनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।
बिमलेश अधिकारी निर्देशित यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेख्नुभएको छ । निर्देशक अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पार्नुभएको हो ।
सिचुएसनल कमेडी-ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा कमब्याक गर्नुभएको हो । सिरिजमा अरुणिमासँगै विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, रोजिना थापा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ । कार्यकारी निर्माता रोशन घिमिरे रहनुभएको छ ।






