दाङ । दाङमा थारु समुदायले धुमधामका साथ आज अट्वारी पर्व मनाइरहेका छन् । हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिनेबित्तिकै मनाउने परम्पराअनुसार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो । अट्वारी पर्व दाङसहित थारु समुदायको बसोबास रहेका बाँके, बर्दिया, कैलाली, कञ्चनपरमा मनाइन्छ ।
थारु समुदायका पुरुषहरूले महिलाको सम्मानका लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरिन्छ । आजको दिन पानीसमेत नखाएर व्रत (उपवास) बस्ने गरिन्छ । अट्वारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाई मनाउने चलन थारु समुदायमा छ ।
यो पर्व सूर्य अर्थात शक्तिको उपसनाका लागि गर्ने गरिएको थारु अगुवा लक्ष्मीमान चौधरीले बताउनुभयो । किम्वदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीचको युद्धका नायक भीमसँग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको चौधरीको भनाइ छ । थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उहाको तर्क छ ।
थारु अगुवा लक्ष्मीमानका अनुसार अट्वारी पर्वको पहिलो रात दर खाने नाममा भात, माछा, चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने चलन छ । त्यसपछि दोस्रो दिन पुरुषहरू व्रत बस्छन् । दिउँसो पुरुष व्रतालुहरू नुहाएर चामलको पीठोको ठोप्वा गोलो आकारमा रोटी पकाउँछन् । साँझ सबै व्रतालुहरू गोबरले लिपेको ठाउँमा बस्छन् ।
टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घिउ राखिन्छ । व्रतालुहरूले आआफ्नो टपरीबाट अर्को दुनाटपरीमा खानेकुरा अलिअलि निकाल्छन् । यसरी खानुभन्दा पहिला निकालेको खाने कुमारलाई अग्रासन भन्ने गरिन्छ ।
अट्वारीको दोस्रो दिन बिहानै नुहाएर व्रतालुहरू खाना पाउँछन् । खानाका लागि तीन/पाँच वा सात प्रकारका तरकारी पकाइन्छ । खाना पाइसकेपछि सबै व्रतालुहरू लिपेको चोखो ठाउँमा बस्छन् । आ आफ्नो टपरीबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् ।
जल आनमन गर्छन् र छुट्टै दुनाटपरीमा केही अंश छुट्याएर राख्छन् । त्यसपछि आफू खान्छन् । आफूले खाने खाना शाकाहारी भए पनि दिदी(बहिनीलाई भने माछा(मासु पकाएर दिने चलन यो समुदायमा छ ।
आधुनिकीरणमा थारु संस्कृति
थारुहरूको चाड पर्व आधुनिकीकरणसँगै विस्तारै हराउँदै गएको अगुवाहरू बताउँछन् । अट्वारी केही थारु तिजअगावै मनाउँछन् भने केहीले तिजपछि मनाउँदै आएका छन् । थारु अगुवा लक्ष्मीमान चौधरीका अनुसार कुनै ठाउँमा भने यी पर्व मनाउनै छाडेको पाइन्छ ।
परापूर्वकालदेखि नै अट्वारी कहिले मनाएका हुन् भन्ने यकिन नभएकाले अब कतिपय थारुहरूले भाद्र महिनाको शुक्ल पक्षअगावै मनाउँदै आएको पाइन्छ । केही थारुहरूले जहिले मनाए पनि हुन्छ भन्ने धारणा राख्नाले अघि(पछि पर्न गएको हो । तर, थारु संस्कृतिलाई जर्गेना गर्नुपर्ने मत पछिल्लो पुस्तामा भने बढ्दै गएको पाइन्छ ।
थारु समुदायलाई सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले थारुहरूको पर्व अट्वारीका अवसरमा दाङ सहित ६ जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ । थारु बहुल्यता रहेका जिल्लाहरु दाङ, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराउनुभएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts