काठमाडौं । १७औँ पुस्तकालय दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउसमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुनको अभाव रहेको भन्दै नीति व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गरिने उहाँले बताउनुभयो ।
पूर्वमन्त्री गणेश साहले पुस्तकालय समाजको ऐना भएको बताउनुभयो भने रसियन हाउसका निर्देशक एन्तोन मास्लोभले नेपालमा पुस्तकालय दिवस मनाए जस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको र सोही दिनदेखि शैक्षिक सत्र सुरु हुने जानकारी गराउनुभयो ।
मूल समारोह समिति अध्यक्ष तथा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुस्तकालयले विगतमा दिएको सेवा, वर्तमान अवस्था र भविष्यमा दिन सक्ने सेवाको आँकलन गर्दै भावी पुस्ताले गर्व गर्न सक्ने पुस्तकालय निर्माणमा राज्यले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव तथा मूल आयोजक समितिका सदस्य-सचिव यादवचन्द्र निरौला, नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष सन्तोष रावल, नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा विगतका वर्ष जस्तै मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठित छनोट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट पुस्तकालयकर्मीमा पोखरा विश्वविद्यालयकी उपलाइब्रेरियन मिनकुमारी डल्लाकोटी, वर्ष पुस्तकालयसेवीमा गीता थापा गिरी, उत्कृष्ट पुस्तकालयमा पर्वतको फलेबासमा सञ्चालित मोती सामुदायिक पुस्तकालयलगायत रहेका प्रचार-प्रसार उपसमिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts