पोखरा । पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तरमाविस्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । सोमबार भएको फाइनल खेलमा पोखरा-४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो । पश्चिमाञ्चलले २५-९, २५-१४ र २५-२२ को सेटमा न्यू ग्यालेक्सीलाई पराजित गर्दै उपाधि हात आफ्नो पोल्टामा पारेको हो ।
पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा पश्चिमाञ्चलले नगद ३० हजार रुपैयाँसहित ट्रफी जितेको छ । क्याम्पसले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा पश्चिमाञ्चलले योसँगै लगातार तेस्रोपटक उपाधि हात पारेर हृयाट्रिक गरेको हो । उपविजेता बनेको न्यू ग्यालेक्सीले नगद २० हजार रुपैयाँसहित ट्रफी जितेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिएको थियो । यो संस्करणको उत्कृष्ट स्पाइकरमा न्यू ग्यालेक्सीकी डुमी सारुमगर, उत्कृष्ट डिफेन्डरमा न्यू ग्यालेक्सीकै समीक्षा गर्बुजा हुनुभयो । त्यस्तै, उत्कृष्ट ब्लकरमा पश्चिमाञ्चलकी भावना छन्त्याल, उत्कृष्ट सर्भरमा पश्चिमाञ्चलकै रेखा पाइजा, उत्कृष्ट खेलाडीमा पश्चिमाञ्चलकी सजिना बुढाथोकी हुनुभयो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा पश्चिमाञ्चलका मलिन रोकामगर हुनुभयो । तीन दिनसम्म चलेको प्रतियोगितामा कास्कीका निजी र सामुदायिक गरी २३ विद्यालयले भाग लिएका थिए ।






