भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेन र रुसबीच युद्ध बिराम गराउन आउँदो साता शान्तिदूत बनेर युक्रेन जाने तयारीमा लागिरेहकै बेला नाटो सेनाको बलमा युक्रेनले पछिल्लो समय रुसमाथि थप आक्रमण गरेपछि मोदीको यो मनशायमाथि पानी खन्याउने काम भएको विश्वका युद्ध विश्लेषकहरू औंल्याइरहेका छन् । यद्यपि यो यात्राको मिति घोषणा गरिसकिएको थिएन । भित्रभित्रै तयारी चल्दै रहेको भनिँदै आएको थियो । यस सन्दर्भमा भारत अमेरिका तथा रुसलगायत कतिपय देशहरूसँग सम्पर्कमा रहेको पनि बताइँदै गरेको थियो ।
तर, युुक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको गैरजिम्मेबार अर्काे उक्साहटमा चल्ने प्रवृत्तिका कारण मोदीको शान्तिदूत बन्ने यात्रामा ग्रहण लागेको बताइँदैछ । बदलिएको युद्धको बढ्दो परिस्थितिमा मोदीले यो यात्रा गर्नु नै उचित छैन र जानु हुँदैन भन्ने कुरा भारतमै चल्न थालेको छ । वास्तवमा उनको यो शान्तिका लागिको भनिएको प्रस्तावित यात्रामा प्रष्ट रूपमा प्रश्नचिहृन खडा हुन पुगेको छ ।
यस सबन्धमा अमेरिकी सञ्चारमाध्यमहरूमा के खबर छापिएको थियो भने रुस र युक्रेन अस्थायी र सीमित युद्धविरामका लागि कतारको राजधानी दोहामा वार्ता गर्न सहमत बनेका थिए । त्यसै सम्भावनालाई मध्यनजर राखेर शायद नरेन्द्र मोदीले युक्रेन यात्रामा जाने तयारी पनि गरेका थिए होलान् । तर, नाटोको थप आडधाप र उक्साहटमा युक्रेनका राष्ट्रपति जेलेन्सकले रुसको कुस्र्क क्षेत्रमा भिषण आक्रमण बढाएपछि मोदीको शान्तिदूत बन्ने यात्रामा पानी खन्याइएको अडकलबाजी गरिँदैछ ।
अमेरिकी सञ्चारमाध्यमहरूले भित्रभित्रै चलिरहेको भनिएको यो दोहा वार्ताका सम्बन्धमा अनौपचारिक रूपमा बेलाबेलामा बताउँदै आएका थिए कि रुस र युक्रेनका अधिकारीहरू यो अपेक्षा गरिएको सम्भावित शान्ति वार्तामा सीमित युद्धविरामका बारेमा विचारविमर्श गर्नेवाला थिए ।
रुसले अब के प्रष्ट दृष्टिकोण बनाएको देखिँदैछ भने अमेरिका र नाटो दुवैको उक्साहटमा रुसमाथिको आक्रमणलाई अझ तीव्र पार्ने र युद्ध लम्ब्याउने दिशामा अझ बढी क्रियाशील बनेको छ । यस्तो बिथोलिएको र बिग्रिएको स्थितिमा मोदी–शान्ति यात्राले सफलतको कुनै छेउ टुप्पो भेट्ने कतै सम्भावना देखा पर्दैन । अर्को पुरानो र परिक्षित कारण पनि छँदै छ कि भारत आफ्नो पुरानो विश्वासिलो मित्र रुसलाई यस्तो स्थितिमा चिड्याउन र मित्रता गुमाउन सक्ने स्थितिमा पनि छैन ।
अमेरिकी सञ्चारमाध्यमले भित्रभित्रै चलिरहेको भनिएको यो दोहा वार्ताका सम्बन्धमा अनौपचारिक रूपमा बेलाबेलामा बताउँदै आएका थिए कि रुस र युक्रेनका अधिकारीहरू यो अपेक्षा गरिएको सम्भावित शान्ति वार्तामा सीमित युद्धविरामका बारेमा विचारविमर्श गर्नेवाला थिए । वार्ताको टेबुलमा सम्झौताका लागि एउटा प्रस्तावको प्रारूप पनि तयार थियो । त्यसमा दुवै देश एकअर्काका ऊर्जा प्रतिष्ठानहरूमाथि हमला नगर्ने विषयमा सहमत हुनेछन् र त्यस प्रकारका हमलाहरू रोक्ने छन् । यसअघि युद्धमा संघर्षका बेला रुसले युक्रेनका विद्युत आपूर्ति गृहहरूमाथि मिसाइल हमला गर्ने गरेको थियो भने युक्रेनेले रुसका तेल प्रशोधन केन्द्रमाथि ड्रोन हमला गर्ने गरेको थियो ।
यो प्रस्तावित दोहा वार्ता सफल हुन्थ्यो भने त दुवै देशलाई ऊर्जाको क्षेत्रमा कम्तीमा पनि निकै राहत मिल्न सक्दथ्यो । अनि भावी युद्धविरामका लागि पनि वातावरण बन्न सक्ने अपेक्षा बढ्थ्यो तर अहिले त रुसको कुस्र्क क्षेत्रमा युक्रेनको पछिल्लो हमलाले गर्दा यो सम्भावनाको परिस्थिति पूर्णरूपले उल्टिन पुग्यो । यद्यपि भारतीय विश्लेषहरू नै भन्छन्-अहिलेसम्म पनि समय छ कि मोदीले प्रस्तावित युक्रेन यात्रा समयमै रद्ध गरून् ।
होइन र उनी युक्रेन यात्रामा जानै चाहन्छन् भने पनि आफ्नो शान्ति प्रयाशलाई दुई देशकै बीचमा उनले सीमित गरून् र दुई देशबीचको सम्बन्धमै ध्यान केन्द्रित गरून् । अहिलेका मोदीका दुवै गन्तव्य देश युक्रेन र पोल्याण्ड रुसका विरुद्ध नाटोका पक्षमा रहेका छन् भन्ने कुरा प्रष्टै छ । ती दुवै देश यथार्थतः नाटोका मोहोरा बनिरहेका छन् । मोदीले बरू उनको यो भनिएको यात्रामा हंगेरीलाई समेत सामले गरेको भए राम्रो हुन्थ्यो भन्ने कुरा पनि भारतीय समीक्षकहरू भनिरहेका छन् । किनभने उनीहरूको तर्क छ कि हंगेरीले यो युद्धमा सन्तुलित प्रवृत्ति अपनाएर आफ्नो भूमिका खेलिरहेको छ ।
त्यसमा पनि यो युक्रेन युद्ध समाप्त गर्न दुवै पक्ष युक्रेन र रुसले जस्ता जस्ता प्रस्ताव राखेका छन् तिनमा एकदमै आकाश जमिनको फरक देखिन्छ । यस भिन्नताको खाडललाई पुर्न भारत जस्तो देशका लागि कतै सम्भव रहेको देखिँदैन । अनि त भारतका प्रधानमन्त्री मोदीले जतिसुकै सदिच्छ र सद्भाव राखे पनि उनले भ्लादिमिर जेलेन्स्की र रुसी राष्ट्रपति पुटिनलाई शान्तिका लागि मनाउन सक्ने बिल्कुलै देखिँदैन । कुरा के छ भने जेलेन्स्की युक्रेनबाट रुसी सेना पूरै हटाइनुपर्दछ भन्छन् भने अर्कोतिर रुसको प्रष्ट के अडान रहँदै आइरहेको छ भने युक्रेनले डोनबाससहित चारवटै प्रान्तहरूमाथि रुसी अधिकार स्वीकार गर्नु पर्दछ ।
अझ त्यसमा अर्कोति अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत पश्चिमा देशहरू रुसको रणनीतिक पराजयका लागि के-के एजेण्डाहरू हुन सक्तछन् त्यसमा ध्यान केन्द्रित गरेर मिहिन रूपले काम गरिरहेका छन् । यथार्थ कुरा के छ त भने मोदीको शान्ति पहलको असफलताको नियति उनको युक्रेन यात्रा आरम्भ हुनुभन्दा पहिला नै लेखिसकिएको थियो । बंगलादेशमा अमेरिका तथा पश्चिमा देशहरूले हालै जे जस्तो हरकत देखाए त्यसबाट भारत क्षुब्ध छ ।
त्यसरी पश्चिमा देशहरूले भारतको आफ्नै छिमेकमै भारतको हितविपरीत काम गर्न खुलम खुला अग्रसर छन् भने यस्तो अवस्थामा एउटा युरोपेली देशका लागि भारतको शान्ति पहलको के औचित्य होला र ? त्यसमा पनि विशेषतः यस्तो समयमा जतिबेला युक्रेन नाटोका अझ बढी हतियाहरूका बलमा युद्ध क्षेत्रमा रुसलाई हटाउने दिवास्वप्न देखिरहेको छ । जुन कुरा वस्तुतः अमेरिकी नेतृत्वको नाटोलाई नै यो युद्धको लामो अनुभवले असम्भव लागिरहेको छ । अनि अहिलेको मोदीको शान्ति प्रस्ताव सन्दर्भहीन भएर गइसकेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता