✍️ शंकर धिताल
आफ्ना लागि लेखौं ।
मनमा सबै शब्द छँदैछन् !
किन लेखौं ?
कसैका लागि लेखौं ।
खै कसका लागि !
के लेखौं ?
लेखौं लेखौं
केही त पक्कै लेखौं !!
ढुनमुन-ढुनमुन गर्दै खाली मनबाट खोक्रा शब्दहरूको सहारामा कुनै मुद्दाको व्याख्या गर्नका लागि लेख्न बस्छु । खुट्टो निदाउँछ र फेरि उठ्छु । उठेर लेख्छु फेरि असजिलो महसुस गर्दै बसेरै लेख्ने प्रयास गर्छु, फेरि मन हृवाङ्ग पाउँछु । मनका कुना कन्दराहरूमा खोजी हेर्छु । पुराना टाटा लागेका खतहरू भेट्छु । कोट्याउने हिम्मत गर्न सक्दिनँ । फेरि पनि हात भने लेख्नका लागि आतुर छन्, छट्पटाएका छन् । आज त लेख्छु, लेख्छु । अठोट लिन्छु, फेरि लेख्न थाल्छु । मुद्दाको छनौट गर्न खोज्छु । जुन मुद्दामा बसेर लेखे पनि कसैलाई गाली नगरी, कसैलाई दोष नथोपरी मेरो लेख पूरा नहुने देख्छु र फेरि कलम बन्द गर्न खोज्छु । भोलि लेखौंला, भोलि लेखौंला भन्दाभन्दै यत्रो समय नलेखेको आभाष गर्छु, फेरि लेख्छु भन्ने दृढताका साथ यो लेख अन्ततः लेख्छु ।
लेखक बन्ने सपना बोकेर राम्रो पाठकसम्म पनि बन्न नसकेको म समाजलाई मिहिन ढंगले हेर्न खोज्छु, तर ढंग पुग्दैन र असरल्ल देख्न पुग्छु । समाज हेर्न गाउँगाउँ जान्छु, देखिँदैन । सडक-सडक भौतारिन्छु, भेटिँदैन । शहरका गल्ली-गल्लीमा रूमलिन्छु, ठोकिँदैन । हिमालका टुप्पाबाट चिच्याउँछु, सुनिँदैन । गलित, थकित भएर यसो मोबाइल हेर्छु, अकस्मात त्यहाँ एकैपटक समाज देखिन्छ, भेटिन्छ, ठोकिन्छ र सुनिन्छ पनि । अचम्मित हुन्छु । म अचम्मित भएको देखेर समाज मसँग झन् बढी अचम्मित हुन्छ । यहाँ बाख्रा र सहकारीको लडाइँ हेर्दै बेलुकाको भात खाइरहेको समाज हेरेर के पाउनु भन्दै आँखा चिम्लिन खोज्छु । फेरि सरकारको गड्याङ गुडुङले तर्सिँदै बिउँझन्छु र हतार-हतार समाज खोज्न त्यही मोबाइल पल्टाउँछु । त्यहाँ देखिन्छ, पूरै देश अनि समाज । कृतिम पानी पारेर दुबईले आफ्नो मरुभूमिमा कमलको फूल फूलाउ नै लाग्दा दुलहीले खाना खान बोलाउँछिन् । जान्छु ।
आफ्नो रित्तो गोजीप्रति हिनताबोध नहोस् भन्न बजारको महँगीलाई गाली गर्छु । बजारे ढाका टोपी साहु मुसुक्क मुस्कुराएर ‘हो है’ भन्छन् र गल्लामा पैसा भर्छन् । आफू चाहिँ रित्तिएर घर फर्किन्छु । ढाका टोपी साहुको मुस्कान सम्झिएर भित्र-भित्रै अठोट गर्छु अबदेखि चाहिँ महँगी बढ्यो भन्दिनँ । बरू मेरो कमाई कम भयो भन्छु ।
दुलहीलाई सबै विश्व घटना सुनाउन खोज्छु, तर उनलाई छिमेकमा भएका एसएलसी फेल डाक्टरको चिन्ता छ । ‘तिनलाई त पुलिसले समात्यो नि । विचरा मलाई त कस्तो माया लाग्यो । टाउको पनि उठाउन सकेनन् बरा’ धेरै बेर छिमेकीको तारिफ सुन्दा अचारमा पिरो बढी भएको महसुस गर्न पुग्छु । फेरि अचारको बारेमा गुनासो गरे ‘खोर्सानी ल्याइदिन्छु-ल्याइदिन्छु’ भन्दै टारेको हप्की खानुपर्ने पीरले चुपै बस्छु । त्यहीबेला दुलहीको फोनमा सुन्न पुग्छु प्रकाश सपुतको गीत । एउटा पुरुषले महिलाको जीवन वर्णन गरेको सुनेर चकित हुन्छु । उठेर सलाम गर्न खोज्छु फेरि आफ्नै अहंकारले दिँदैन । मानिस साँच्चै अनौठो हुने रैछ । मसँग लेखक बन्ने सपना नभइदिएको भए म ती शब्द-शब्दलाई कति तारिफ गर्न सक्थें हुँला । तर त्यही सपनाको भ्रमले मलाई अहंकारी बनाउँछ र झुक्न दिँदैन । मैले मलाई मात्रै होइन धेरैलाई देखेको छु, जो अरू समकालीनलाई तारिफ गर्न सक्दैनन्, किनकी उनीहरूलाई पनि आफ्नो ठाउँ बनाउनुछ । आखिर अहंकार भएरै त आकाशमा यति धेरै ताराहरू लत्रंग झुण्डिएका होलान् । नत्र सबै ताराहरूले आफ्नो अहंकार त्यागेर एक ठाउँमा उभिने हो भने त राति पनि सूर्यभन्दा ठूलो घाम लाग्दो हो ।
भाँडा माझ्न खोज्छु । साबुन सकिएछ । जान्छु बजार महँगीको अनुभव गर्न । आफ्नो रित्तो गोजीप्रति हिनताबोध नहोस् भन्न बजारको महँगीलाई गाली गर्छु । बजारे ढाका टोपी साहु मुसुक्क मुस्कुराएर ‘हो है’ भन्छन् र गल्लामा पैसा भर्छन् । आफू चाहिँ रित्तिएर घर फर्किन्छु । ढाका टोपी साहुको मुस्कान सम्झिएर भित्र-भित्रै अठोट गर्छु अबदेखि चाहिँ महँगी बढ्यो भन्दिनँ । बरू मेरो कमाई कम भयो भन्छु । आफ्नो रिक्तताको भावलाई ढाकछोप गर्न नयाँ शब्दहरूको प्रयोग गर्ने अठोट गर्दै घर फर्किन्छु । भाँडा माझ्दै गर्दा फेरि पनि टिभी खोल्छु र हेर्छु, क्रिकेट खेलाडीहरूलाई सरकारले बाँडेको पैसाको खबर । बेलैमा क्रिकेट खेल्नुपर्ने रैछ भन्ने सम्झिन्छु फेरि शैलेश भाइको याद आउँछ । जो पढ्ने उमेरमा ‘क्रिकेट-क्रिकेट’ भनेर मरिहत्ते ग¥यो, अहिले कतारमा बसेर अफ ड्यिुटी भएको बेला क्रिकेटको लाइभ हेरिरहेछ ।
च्यानल चेञ्ज गर्छु । खबर आउँछ टम क्रुज र टम हृयाङ्सको चलचित्र जुधेको । साबुन पानीले मुख धोएर फेरि हेर्छु । म झुक्किएको रैछु, खबर त सलमान खान र शाहरूख खानको चलचित्र एकै दिन रिलिज भएको रैछ । अचम्मित हुँदै आफ्ना आँखालाई स्टिल झुसले राम्ररी मस्काएर फेरि खबरलाई नियाल्छु । बल्ल छर्लंग हुन्छु, खबर त अनमोल केसी, प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहको चलचित्रको लडाइँ पो भइरहेको रहेछ । बल्ल आफ्नो औकात अनुसारको खबर आएको महसुस गर्छु । समाचार वाचकले निर्देशक र निर्माताबीचको टकराव भनेर हुँदै गरेको भीडन्तलाई व्याख्या गरिरहेछ । मुसुक्क गर्छु । मनमनै म र मेरो समाजलाई कत्ति पंगु बनाउन सकेको है ? भन्ने प्रश्न गर्छु ।
तीनजना नायक मिलेर एकजना नायकलाई घेरेको भन्न नसकेको देखेर समाचारवाचकप्रति दया प्रकट गर्छु । तीनजना नायकले चाहेर पनि सम्भावित भिडन्त रोक्न नसक्ने आँकलन गरिरहेको देखेर समाचारवाचकप्रति सहानुभूति महसुस गर्छु । तीनजना मिलेर रोकौं भन्ने हो भने निर्देशकले त के वहाँको पिताश्रीले पनि चलचित्रको प्रदर्शन रोक्न बाध्य हुनुपर्छ भन्ने यथार्थलाई गम्छु । यो जुँगाको लडाइँमा आर्यन सिक्देल जत्तिको दिग्गज नायक पनि पछि नपरेको देखेर हासौं कि चुक्चुकाउँ भन्ने महसुस गर्छु । अनि फेरि सम्झिन्छु, वर्षेनी लाग्ने हाँडीगाउँको जात्रा र आकाश थाम्न उत्तानो परेको हुट्टिट्यांउँ ।
गर्दै भन्दै जाँदा नेपालीको मात्रै माया लागेको देखेर आफैंसँग फेरि रिस उठ्छ र एकपटक सम्पूर्ण मानव जातिमाथि माया लाग्छ । आफ्नो माया यो मनुष्यमा मात्रै समित भएको देखेर संकुचित महसुस गर्छु र सम्पूर्ण चौरासी लाख योनी र यो सम्पुर्ण ब्रहृमाण्डमाथि पनि हुलुक्कै माया लागेर आउँछ । एकैछिन्मा म मायै मायाले भरिन्छु ।
समाजको स्थिति र मानसिकतामा कुनै गठजोड देख्न सक्दिनँ । शायद म आलोकाँचो भएर पो हो कि ? खुट्टयाउनै सक्दिनँ । म ती युवा सम्झिन पुग्छु, जो कोरिया जान हिँडेका थिए, तर बालकुमारी पुल तर्न पाएनन् । नजिकै भएर ती युवाको माया लागेको होला भन्ने आँकलन गर्न पुग्छु, नत्र त हमासको चपेटामा परेका युवाको पनि त्यति नै माया लाग्थ्यो होला । रूस र युक्रेन दुवैतर्फबाट पैसाका लागि युद्ध लडिरहेका नेपालीको पनि त्यति नै माया लाग्थ्यो होला । अमेजोन जंगलमा हिँडेका, पृथ्वीको अर्कै कुनामा डुंगा पल्टिएर मरेका मानिसको पनि माया लाग्छ । गर्दै भन्दै जाँदा नेपालीको मात्रै माया लागेको देखेर आफैंसँग फेरि रिस उठ्छ र एकपटक सम्पूर्ण मानव जातिमाथि माया लाग्छ । आफ्नो माया यो मनुष्यमा मात्रै समित भएको देखेर संकुचित महसुस गर्छु र सम्पूर्ण चौरासी लाख योनी र यो सम्पूर्ण ब्रहृमाण्डमाथि पनि हुलुक्कै माया लागेर आउँछ । एकैछिन्मा म मायै मायाले भरिन्छु, तर पोखिने ठाउँ पाउँदिन र भित्र–भित्रै विस्तारै सुक्न थाल्छु । आँखामा बुद्धत्व प्राप्तिको बोध, मनमा यो तिनै लोक, चारै भुवन प्रतिको अपार माया र हातमा जुठो मस्को लिएर म आफ्नो काम सिध्याउन पट्टी लाग्छु ।
खाटमा पल्टिन्छु । आजको दिन पनि बितेको महसुस गर्छु । सोच्छु यो दिनलाई अब मैले केही दिन वा हप्तापछि सम्झिन्छु कि सम्झिन्न होला ? सम्झनलायक केही चिज पाउँदिन । यो भन्दा पहिले बिताएका हजारौं दिनलाई सम्झिन खोज्छु । खाटमाथिको छानो घुमाएको महसुस हुन थाल्छ । याद आउँदैन, टाउको कन्याउन मन पनि लाग्दैन । केही पढौं कि भन्ने लाग्छ, फेरि पढेर खास तात्विक फाइदा केही नहुने दिव्य ज्ञानको अकस्मात बोध हुनपुग्छ । सुतौं कि भन्छु । निद्रासँग अहिल्यै सम्बन्ध नगासौं जस्तो लाग्छ । फेरि लामिछाने बाका प्याजका पत्रहरू उप्काउने रहर जागेर आउँछ । गुरुजीका किताबहरूलाई कहिलेसम्म शिरानीमा थन्काउने ? बरू तिनीहरूलाई जीवन्तता प्रदान गर्ने मन भएर आउँछ । पल्टाउँछु । पढ्छु । पढेर फेरि खुशी हुन्छु, त्यसरी नै जसरी पहिलोपटक पढ्दा खुशी भएको थिएँ । तिनै गुरुलाई साक्षी मानेर आफ्नै जीवनको प्याजको एक छिल्को लेखिहेर्छु । लेख्दा लेख्दै मन भरी अर्को छिल्को पनि उप्काउने रहर भएर आउँछ । त्यसपछिको रिक्तता, अन्धकार र त्यसको भयावह शून्यतासँग डराउन पुग्छु र बन्द गर्छु यो लेख त्यसरी नै जसरी हुण्डरीमा बलेको दियो निभ्न पुग्छ । झ्याप्पै । झ्याप्प ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा