
काठमाडौं । किरात वाम्बुले राई जाति, भाषा र साहित्यबारे दुई कृति सार्वजनिक भएको छ । वाम्बुले राईहरूको महान् चाड ढ्वाङकुमोको अवसरमा उक्त कृति सार्वजनिक गरिएको हो । पत्रकार तथा लेखक गणेश राईद्वारा लिखित सांस्कृतिक निबन्ध संग्रह ‘वाम्बुले योरङा सारियोम्सि’ (वाम्बुले भाषाको शिरउभौनी) र राईद्वारा सम्पादित ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) कविता संग्रह सार्वजनिक गरिएको हो ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिले ललितपुरको सानो हात्तीवनमा आयोजना गरेको समारोहमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, राष्ट्रगानका रचयिता व्याकुल माइला, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राई, सभाध्यक्ष तथा पत्रकार गजुरधन राईले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
यसैगरी वाम्रास सुनसरीले धरानमा आयोजना गरेको ढ्वाङकुमो समारोहमा भाषाशास्त्री प्राडा.टंकप्रसाद न्यौपाने, सभाध्यक्ष लाखमान राईले सोही ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) कविता संग्र्रह सार्वजनिक गर्नुभएको थियो । ‘वाम्बुले योरङा सारियोम्सि’ (वाम्बुले भाषाको शिरउभौनी) सांस्कृतिक निबन्ध संग्र्रह आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको हो । उक्त संग्र्रह तीन खण्डमा सामग्री समेटिएका छन् ।
पहिलो नेपाली भाषा खण्डमा ‘किरात वाम्बुले राई जाति र वाम्बुले भाषा’, ‘वाम्बुले राईको सृष्टिकथा’, ‘मुन्दुम र वाम्बुले टोप संस्कृति’, ‘वाम्बुले घरको वास्तुकला’, ‘वाम्बुले थातथलोमा मौलिक नामको पुनः स्थापना’, ‘वाम्रास संस्था सबैको हो’ शीर्षक आलेख छन् ।
यसैगरी ‘उज्यालो खोज्दै झाप्पागाउँ उकालो’, ‘पहाडबाट ढाकर होइन, वाम्बुले कविताको पोको झार्दा’, ‘मातृभाषा सिकाइमा दुई पुल’, ‘वाम्बुले भाषा लेखनमा देवनागरी, रोमन र किरात लिपि’, ‘वाम्बुले भाषा विकासमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको योगदान’ र ‘वाम्बुले भाषामा नाटकको इतिवृत्ति’ समेटिएका छन् ।
यसैगरी दोस्रो मातृभाषा-नेपाली खण्डमा अनुवादसहित ‘वाम्बुले राईको बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा’, ‘वाम्बुले राई भाषा र नेपाल प्रज्ञा–प्रतिष्ठान’, वाम्बुले राईको सामेत के हो ?, ‘शिरउभौनी’ र ‘किरात सिरिजंगा लिपिको साझा किताब’ शीर्षक आलेख रहेका छन् ।
तेस्रो मातृभाषा खण्डमा ‘व्याकुल माइला पाचि के पापमाइला’ (व्याकुल माइलालाई कान्छाकाका कि माइलाकाका), ‘क्याम्पा आति क्याम्पाचो’ (क्याम्पा होइन, क्याम्पाचो), वाम्बुलेल्वा थेसिस आस्याङ र्याक्चाम’ (वाम्बुलेमा थेसिस किन लेख्ने), ‘मिः न्वा काकुल्वाङ ज्वागैदुम्किमा है’ (आगो र मापनीबाट जोगिऔँ है), ‘लिब्जु गाउँपालिका जिन्दावाद आदेमि’ (लिब्जु गाउँपालिका जिन्दावाद भन्दै), ‘इम थोचे द्याल ल्वाङम्वाल’ (त्यो साल गाउँ जाँदा), ‘वाम्बुले राडु योरल्वा हाइकु’ (वाम्बुले राई भाषामा हाइकु), ‘परै प्वाचोः उपो, पापा, उङ्गु इल्वाङ राइचिपुस्ता’ (पढेकाः बाजे, बाबु, म अनि छोरापुस्ता), ‘यलाखोमल्वा वाम्बुले जोखिम’ (काठमाडौं उपत्यकामा वाम्बुले घर) र ‘वाम्बुले राडु, वाम्बुले योर, वाम्बुले रितुममुक्तुम’ (वाम्बुले राई, वाम्बुले भाषा, वाम्बुले रीतिमुन्दुम) शीर्षक आलेख रहेका छन् । यीमध्ये चारवटा निबन्ध लेखनमा किरात सिरिजङ्गा लिपिका माध्यमबाट लेखिएका छन् ।
किरात राई जातिभित्र २६ भाषा रहेका छन् । जसमा वाम्बुले भाषा एउटा भाषा हो । वाम्बुले राईहरूले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ वामद्याल (उँबुगाउँ)लाई आफ्नो उत्पत्ति थलो मान्दछन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार वाम्बुले भाषा बोल्नेको जनसंख्या १५ हजार २८५ रहेका छन् ।
वाम्बुले भाषा २०४५ सालतिरबाट लेखन आरम्भ भएको हो । २०५० सालमा ‘लिब्जु-भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन सुरु भएपछि हालसम्म २० वटा साहित्यिक कृति र एउटा शब्दकोशसहित १० वटा विभिन्न विधाका किताब प्रकाशित छन् ।
यसैगरी वाम्बुले भाषाका तीन गीति एल्बम, वाम्बुले सामाजिक जीवनसँग सम्बन्धित तीनवटा वृत्तचित्र, दुईवटा चलचित्र निर्माण भएको संग्रहमा उल्लेख छ । यस्तै वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २६औं वार्षिकोत्सव २०८० मंसिरमा धरानमा आयोजित २४औं वाम्बुले भाषाको कविता प्रतियोगितामा वाचित कविताहरूको संगालो ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) किताब प्रकाशन गरिएको थियो ।
यो संग्रहमा १७ प्रतियोगीसहित २८ वटा कविता समेटिएका छन् । यसभित्र भाषाशास्त्री प्राडा.टंकप्रसाद न्यौपानेले ‘वाम्बुले राईः एक विशिष्ट किराती भाषा’ शीर्षक विशेष आलेख छ । यो संगालोमा गजुरधन राई, लाखमान राई, गणेश वाम्बुले राईले वाम्बुले राई भाषा, साहित्य र संस्कृतिबारे लेख्नुभएको छ भने दिनेश वाम्बुले राई, कमल किराती, श्याम वाम्बुले राई र शुभराज राई (काजी)का संस्मरणात्मक लेख समेटिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच