
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति ‘एकासीको गाईजात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठानमा र कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लगायतको प्रस्तुति रहेको गाईजात्रे प्रस्तुति नाचघरमा भइरहेको छ । सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्रामा यी दुई समूहले आफ्ना प्रस्तुतिमार्फत समासायिक विषयवस्तुमा व्यंग्य प्रस्तुत गरिरहेका छन् ।
प्रज्ञाप्रतिष्ठानमा भइरहेको गाईजात्रामा कलाकार मनोज गजुरेललाई दर्शकले दुई फरक गेटअपमा पाएका छन् । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र बहुला आमनागरिक । यो गाईजात्रा प्रस्तुतिमा यमन श्रेष्ठ मेक्सन गौडेल र सुवोध गौतम, शैलेन्द्र सिंखडा, सीता न्यौपाने, सजन श्रेष्ठ र प्रभात लामालगायत कलाकारको प्रस्तुति रहेको छ । यहाँ कलाकार मेक्सन गौडेल र सुबोध गौतम घरबेटी बा र भाडामा बस्ने पात्र बन्नुभएको छ ।
शैलेन्द्र सिंखडाले देशका राजनीतिक र समसामयिक विषयवस्तुमा आधारित रहेर यसपटकको गाईजात्रामा प्रस्तुत गर्नुभएको छ । यस्तै, यमन श्रेष्ठले गाईजात्रामा सांगीतिक प्रस्तुतिमार्फत कमेडी पस्किनुभएको छ । सजन श्रेष्ठ र प्रभात लामाले ट्याक्सी ड्राइभरदेखि विमानस्थलबाट हुने सुन तस्करको विषयवस्तुलाई उठान गर्नुभएको छ । नयाँसहित पुराना कलाकारहरूको गाईजात्रा प्रस्तुति रहेको छ । चेयरमा मेयर कार्यक्रममा बालेन शाहलाई व्यंग्य गरिएको छ । उक्त प्रस्तुतिमा बालेनको डोजर आक्रमणदेखि गरिबमाथि गरिएको ज्यादती प्रस्तुत गरिएको छ ।
राष्ट्रिय नाचघरमा भइरहेको गाईजात्रा महोत्सव-२०८१ मा धुर्मुस-सुन्तलीसहित राजा राजेन्द्र पोखरेल, शिवशंकर रिजाल ‘जोगिन्दर’, सुरेन्द्र केसी ‘मुलासाग’, पल्पसा डंगोल ‘चम्सुरी’, हिमेश पन्त, खड्गबहादुर पुन (खबपु), सुयशा खनाललगायतको प्रस्तुति छ । पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ ।
हाँस्य-व्यंग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री हरेक वर्ष बजारमा आउने गर्दछन् । गाईजात्रामा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन् ।
गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक, आर्थिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन् ।
विसं-२०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामु पस्किरहेका ‘जोगिन्दर’ उपनामले परिचित हाँस्य कलाकार शिवशंकर रिजालले आफ्ना लागि पर्व सुरु भएको बताउनुभयो । ‘मैले कलाकारिता गरेदेखि नै गाईजात्रामा सहभागिता जनाउनुका साथै यस सम्बन्धी प्रस्तुति ल्याइरहेको छु, वर्षभर भएका विकृतिलाई व्यंग्य गर्नु, सचेत गराउनु हाम्रो कर्म र धर्म दुवै हो,’ उहाँले भन्नुभयो ।
विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हाँस्य व्यंग्यका कार्यक्रम, प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ । हाँस्य-व्यंग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै यससम्बन्धी सामग्री हरेक वर्ष बजारमा आउने गर्दछन् । गाईजात्रामा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३० को दशकमा सुरु गरेको गाईजात्रे कार्यक्रम राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा-प्रतिष्ठानका भवनमा महिनौं दिनसम्म सञ्चालन हुनेगर्थे । तर, अहिले यो खुम्चिँदै गएको छ ।
नेपाली हाँस्यव्यंग्यको क्षेत्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनाली, वसुन्धरा भुसाल, तैयव शाह, राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, शिवहरि वैरागी, सन्तोष पन्त, मनोज गजुरेल, दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, केदार घिमिरे, कुञ्जना घिमिरे, जितु नेपाल, दमन रूपाखेती, शिवशंकर रिजाल, उत्तम केसी, कमलमणि नेपाल, हिमेश पन्त, सुवोध गौतम, दिनेश काफ्ले, भरतमणि पौडेल, निरु खड्का, सुरवीर पण्डित, सुरेन्द्र केसी, खड्गबहादुर पुनलगायत सयभन्दा बढी हाँस्य कलाकार स्थापित हुनुहुन्छ । धेरै हाँस्य कलाकारले गाईजात्रामा प्रस्तुति दिन छाडिसकेका छन् भने केहीले यसलाई निरन्तरता दिइरहनुभएको छ ।
युट्युबमा सार्वजनिक-२०८१ का गाईजात्रा प्रस्तुति
गाईजात्राको सन्दर्भ पारेर विभिन्न कलाकारले आफ्ना हाँस्य व्यंग्य प्रस्तुति सार्वजनिक गर्नुभएको छ । पहिला पहिला सिडी क्यासेटमा सार्वजनिक हुने हास्य व्यंग्य सामाग्री पछिल्ला दिनमा युट्युबमा सार्वजनिक हुने गरेका छन् । हरेक वर्षजस्तै यसवर्ष पनि कलाकारहरूले आफ्ना प्रस्तुति सार्वजनिक गरेका छन् । यसरी भिडियो सार्वजनिक गर्नेमा जोगिन्दर अर्थात् शिवशंकर रिजाल, कमल गाउँले, केदार घिमिरे (माग्ने बुढा), दमन रूपाखेती, शैलेन्द्र सिम्खडा, उत्तम अर्याल ‘कोदे’, प्रदीप पाठक ‘नक्कली प्रचण्ड’, गोपाल तिमिल्सिना, प्रेमराज लामिछाने, नवराज काप्री, युवराज भण्डारीलगायत हुनुहुन्छ ।
जोगिन्दरले ‘ठगठाग कम्पनी’ शीर्षकमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको छ । उहाँको भिडियो ओएसआर डिजिटलमार्फत आएको हो । रिजालले देशको विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिकदेखि फेसन र ग्ल्यामरसम्मका विकृति र विसंगतिमाथि प्यारोडी गीत शैलीमा व्यंग्य प्रहार गर्नुभएको छ । भिडियोमा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सिना, शिला उप्रेती, सोनम शेर्पा, विजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेललगायत कलाकारले अभिनय छ ।
यस्तै, कमल गाउँलेले ‘भीषण ८४’ ल्याउनुभएको छ । ‘भीषण ८४’मा उहाँले राजनीतिक दलहरूले गरेको काम, देशमा बढ्दो भ्रष्टाचार, महँगी, वैदेशिक रोजगार, मिसन ८४ लगायतका विषयप्रति व्यंग्य गर्नुभएको छ । कमलकै अफिसियल युट्युब च्यानलमार्फत यो भिडियो सार्वजनिक भएको हो ।
त्यस्तै, गोपाल तिमल्सिनाले ‘के होला के होला’ ल्याउनुभएको छ । आफ्नै युट्युब च्यानलमार्फत प्यारोडी गतिसहितको भिडियो उहाँले ल्याउनुभएको हो । तिमल्सिनाकै शब्द र स्वर रहेको गीतमा विशाल तामाङको संगीत संयोजन छ । गीतमार्फत उहाँले देशमा वर्षभरि भएका विभिन्न काण्ड, घटना, आन्दोलन, समेट्दै देशमा भइरहेको भ्रष्टाचार, अन्याय, अत्याचार, बलात्कार, विकृतिविसंगतिप्रति व्यंग्य गर्नुभएको छ । साथै देशको शैक्षिक, आर्थिक अवस्थालाई पनि चित्रित गर्नुभएको छ । तिमल्सिनाले निर्देशन गरेको भिडियोमा सुमन ढकाल, अर्जुन आचार्य, रुद्र ढकालको अभिनय छ ।
त्यसैगरी केदार घिमिरे माग्ने बुढाले ‘झुटा कुरा फ्याटै पत्याउने’ ल्याउनुभएको छ । नवीना सिलवाल ‘खुइली’को स्वरमा र्याप मिक्सिङ गरिएको कमेडी गीतमा सोझा जनता, कामप्रतिको इमानदारी, महिलाको मेकअप, सापटी दिएको पैसा फिर्ता नगर्ने, सडक जाम गरेर चिल्ला गाडीमा हिँड्ने, चुनावमा गाउँमा झुल्किने र एक छाक खान दिएर भोट किन्ने राजनीतिज्ञप्रति व्यंग्य प्रहार गरिएको छ । घिमिरेकै शब्द रहेको गीतमा बाबुल गिरीको संगीत निर्देशन र संयोजन छ । यो आमा अग्निकुमार मिडियामार्फत सार्वजनिक गरिएको छ ।
त्यस्तै प्रेमराज लामिछानेले ‘मिसन-८४’ ल्याउनुभएको छ । उहाँकै लेखन र प्रस्तुति रहेको ‘मिसन ८४’ बोलको गाईजात्रा भिडियोमा अलिफ खान, सुरज भुसाल र अस्मिता पाण्डेको स्वर रहेको गीतमा अर्जुन परियार, प्रेमराज लामिछाने, विजया परियारले ¥याप गाउनुभएको छ । गीतमा पवन रानाभाटको मिक्सिङ र संगीत संयोजन छ । यसमा पनि राजनीतिक दल, र देशको समसामयिक विषय, तीज गीतको विकृति, कोटीहोम विवादलगायत विविध विषय समेटेर व्यंग्य गरिएको छ । भिडियो निर्देशन तथा सम्पादन प्रेमराजकै छ ।
यस्तै, दमन रूपाखेतीले ‘मिसन ८४ पत्तासाप’ ल्याउनुभएको छ । दमनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा नाटकीय शैलीमा यमलोकबाट देशको वर्तमान स्थितिप्रति व्यंग्य गरिएको छ ।
त्यसैगरी शैलेन्द्र सिम्खडाको ‘गाईजात्रा २०८१’मा समसामयिक विषयप्रति व्यंग्य गर्दै गरिएको छ । यो भिडियो उहाँकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसमा राजनीतिक दल र देशमा मौलाउँदै गएको भ्रष्टाचारप्रति व्यंग्य गरिएको छ ।
यसैगरी टिकटकबाट भालेका नामले परिचित नवराज काप्रीले ‘भालेको गाईजात्रा’ ल्याउनुभएको छ । गीतमा उहाँकै स्वर, शब्द र संगीत छ । गायनमा उहाँलाई नवीना सिलवाल ‘खुइली’ ले साथ दिनुभएको छ । गीतको भिडियोमा धीरज कोइराला, रञ्जित विश्वकर्मा, देवेन्द्र काप्री, रोस्मित अधिकारी, सुशीला थापा, विष्णु सुनुवार, दुर्गा बस्नेत, पवन कार्की र भुवन सुनारले अभिनय गर्नुभएको छ ।
यस्तै, युवराज भण्डारीले ‘घुँडैसिती’ ल्याउनुभएको छ । उहाँको गीतमा देशको वर्तमान परिवेशप्रति व्यंग्यात्मक प्रस्तुति छ । नवराज भण्डारी, युवराज भण्डारी, राजेन्द्र नेपाली र सञ्जया भण्डारीको लेखन र रमा राना मगरको स्वर रहेको यो पोखरेली माग्ने बुढा धुर्मुस च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस्तै गाईजात्राको सन्दर्भ पारेर अन्य कलाकारले पनि आफ्न प्रस्तुति श्रोता÷दर्शकमाझ ल्याउनुभएको छ ।
यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड’
गाईजात्राको अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकले मंगलबार काठमाडौंको वसन्तपुरमा ‘प्राइड परेड’ आयोजना गरेका छन् । उनीहरूले प्रत्येक वर्ष यो दिनलाई आफ्नो गौरवपूर्ण दिनको रूपमा मनाउने गर्छन् । नील हीरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि सहभागी हुनुभएको थियो ।
आफ्नो पहिचानमाथि गर्व गर्दै उत्सवको रूपमा सार्वजनिक उद्घोष गर्न, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्न र समुदायमाथि हुने लाञ्छना, विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठाउन परेड गरिएको अभियन्ताहरूले बताएका छन् ।
गाईजात्रा किन ?
नेवार अर्थात् नेपाल भाषामा ‘सा पारु’को अर्थ गाईजात्रा हो । नेवार समुदायको पर्व मानिने गाईजात्रा वर्षभरि निधन भएका आफन्तजनको सम्झनामा मनाइने चाड हो । पद्मपुराण अनुसार भाद्रकृष्ण प्रतिपदाका दिन यमलोकको मुख्य द्वार खुला रहन्छ । सो दिन दिवंगत हुनेहरू कुनै बाधा अवरोधबिना यमलोकमा प्रवेश पाउँछन् । यही पौराणिक मान्यतानुसार नेवार समुदायले यो चाड भदौको कृष्णपक्ष प्रतिपदाका दिन मनाउँछन् ।
यो दिन मृतात्माको स्मरण गरी गाईलाई नगर परिक्रमा गराउँदै दान-दक्षिणा गरे मृत व्यक्तिहरूले सोही गाईको पुच्छर समातेर वैतरणी तर्न सक्छन् भन्ने विश्वास छ । यही विश्वासका आधारमा नेवार समुदायले गाईजात्रा मनाउन थालेको भनाइ छ ।
राजा प्रताप मल्लले छोराको मृत्युमा शोकमा रहेकी रानीलाई खुसी पार्न गाईजात्राको चलन चलाएपछि यसले व्यापकता पाएको किंवदन्ती पनि छ। शोकसन्तप्त परिवारमा खुसी ल्याउन गाईजात्राका अवसरमा हास्यव्यंग्य कार्यक्रम गरिन्छ । हास्यव्यंग्य कार्यक्रम जोडिएपछि यो नेवारमात्र होइन, आमनेपालीको पर्वझैं भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच